घोडाघोडी (कैलाली) । घोडाघोडी नगरपालिकामा विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरेर सीमान्तकृत समुदायलाई हस्तान्तरण गरिएका छन् । घोडाघोडीको वडा नं ४ सिम्थरीमा ६ र वडा नं ९ गोदनीमा ६ वटा आवास निर्माण गरिएका हुन् ।
नगरप्रमुख खडकबहादुर रावतले नवनिर्मित घर ती समुदायलाई सोमबार हस्तान्तरण गर्दै पालिकाभित्रका सबै वडामा सीमान्तकृत वर्गलाई सुरक्षित आवास बनाउने योजना रहेको जानकारी दिए । ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र घोडाघोडी नगरपालिकाको लागत साझेदारीमा उक्त घर निर्माण गरिएका हुन् ।
सुरक्षित आवासमा दुईवटा पक्की कोठा र एक शौचालय रहेको छ । घोडाघोडी नगरपालिकाको रु ४२ लाख, ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क नेपालको रु २४ लाख र जनश्रमदान रु ९ लाख ५ हजार ५०२ लागत साझेदारीमा सुरक्षित आवास निर्माण गरिएको हो ।
वडाहरूको सिफारिसमा आवासविहीन सीमान्तकृत वर्गलाई लागत साझेदारीमा घोडाघोडीले सुरक्षित आवास निर्माण गरिदिएको हो । यसअघि पालिकाले वडा नं ३ सृष्टिनगर मुक्त कमैया बस्तीका नागरिकलाई १२ सुरक्षित आवास हस्तान्तरण गरिसकेको छ । रासस
Comments are closed.