लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीसहितको अन्तरप्रदेश समन्वय बैठक रानीमहलमा

सुशीला रेग्मी/रामपुर (पाल्पा) । पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा बुधवार अन्तर प्रदेश समन्वय बैठक बस्दैछ । लुम्बिनी र गण्डकी गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको अन्तर प्रदेश समन्वय बैठक यहाँ बस्न लागेको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेय लगायत प्रदेशका मन्त्री, मुख्य सचिव, सचिव लगायतको अन्तर प्रदेश समन्वय बैठकमा सहभागीता रहनेछ । कालीगण्डकी नदीको तटमा अवस्थित रानीमहल दरबारमा दुई प्रदेशका मुख्यमन्त्रीसहितको बैठकमा लुम्बिनी र गण्डकी प्रदेशका भावी योजनाबारे गहन छलफल हुनेछ ।

कालीगण्डकी नदीले लुम्बिनी र गण्डकी प्रदेशलाई जोडेकाले दुई प्रदेशको पर्यटन विकास, अन्तर प्रदेश व्यापार, व्यवसाय लगायतका क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने भएकाले यहाँ बस्ने अन्तर प्रदेश समन्वय बैठकलाई बिशेष चासोको रुपमा हेरिएको तानसेन –१३ का वडाध्यक्ष टुकप्रसाद भट्टराईले बताए । बिशिष्ट व्यक्तिको उपस्थितीले नदी वारीपारीका क्षेत्रको समृद्धि र विकासका साझा सरोकारका विषयमा महत्वपूर्ण कुरा उठान हुने सरोकारवालाको अपेक्षा छ ।

नेपालको ताजमहलका रुपमा चिनिने पाल्पाको रानीमहल दरबार जिल्ला सदरमुकाम तानसेनदेखि करिव १३ किलोमिटर उत्तरमा अवस्थित छ । करिव ११ रोपनी क्षेत्रफलमा रहेको नेपालको रानीमहलमा २४ कोठा छन् । यसको परिसरमा मनमोहक बगैंचा, शिवलालय, पानीपोखरी, शिबलिङमा नागनागिनीले जल शेचनको दृश्य, भान्साघर, घोडा बाँध्ने तबेला ठूला घण्टहरु सहितको विभिन्न आकर्षक कलाकृतिहरु देख्न सकिन्छ ।

तानसेन नगरपालिका–१३, मा रहेको रानीमहलमा सबै उमेर समुहका पर्यटकहरु घुम्न जाने गर्दछन् । अहिले यस क्षेत्रमा होटल तथा रिसोर्टहरु खुल्ने क्रम बढ्दै गएको छ । रानीमहल दरबारलाई नियाल्दै कालीगण्डकी नदीमा जलयात्रा गर्ने अवसर रहेकाले पनि पर्यटकहरु अवलोकन गर्न पुग्दछन् ।

विसं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । तानसेन नगरपालिकाको बौघागुम्हा र वगनासकाली गाउँपालिकाको खानीगाउँको बिचमा अवस्थित रानीमहल युवापुस्ताको पहिलो रोजाईमा पर्ने गरेको छ । विसं १९५० मा शिलन्यास गरी १९५४ मा कालीगण्डकी नदीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिंगारेर बनाइएको छ ।

यहीँ स्थानमा एक्लै रात बिताउँदा खड्ग समशेर कहिलेकहिले आफ्नी दिवंगत रानीलाई सम्झँदै भावविह्वल हुँदै मध्यरातमा रुँदै चिच्याउँथे भन्ने पनि गरिन्छ । विसं १९६० मा खड्ग समशेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र ग¥यो भन्ने श्री ३ चन्द्र समशेरले थाहा पाए । चन्द्रशमसेरले पाल्पामा सेना पठाइ तैनाथी आफ्नो हातमा लिए ।

आफूमाथि खतराको घण्टि बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए । त्यसै दिनदेखि प्रेमको प्रतिक ठानिएको दरबार आजसम्म एक्लो अवस्थामा रहेको छ । कालीनदीको चट्टामाथि बनेको हुदा पनि यस दरबारले सबैलाई लोभ्याइरहेको हुन्छ ।

 

 

 

 

You might also like

Comments are closed.