महोत्तरीमा आम्दानीको आकर्षक माध्यम बन्दै सुर्तीखेती

जलेश्वर । कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरु नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् । बर्सेनि बीउबिजन, मल र पानीको समस्याले धान उत्पादन घटेपछि स्थानीय किसान परम्परागत धानखेती छाडेर व्यावसायिक रुपम सुर्तीखेती गर्न थालेका छन् ।

सुर्तीखेतीमा रमाएका किसान रामजीवन साह मेहनत र लगानीअनुसारको धान उत्पादन नहुँदा महोत्तरी गाउँपालिका–६ धेरैजसो किसानले सुर्तीखेती गरेका बताए । गाउँका ४० प्रतिशत खेतबारीमा सुर्तीखेती हुने गरेको उनी बताउँछन् । उनका अनुसार उक्त वडाको ५० बिघा बढी जग्गामा सुर्तीखेती भएको छ । उक्त वडाका ५० बढी परिवार सुर्तीखेतीमा व्यस्त छन् ।

एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने भन्दै स्थानीय किसान रामएकवाल साहले यहाँका किसान व्यावसायिक रुपमा सुर्तीखेती गर्न थालेको बताए । उनका अनुसार स्थानीय बजारमा सुर्तीको गुणस्तर हेरेर १ किलोग्रामको रु १ हजारदेखि १५ सयसम्ममा बिक्री हुने गरेको छ ।

यहाँको सुर्ती बिडी र चुरोट बनाउन भारतका व्यापारीले किन्ने गरेका छन् । एक कट्ठा जग्गामा दुई क्विन्टलसम्म सुर्ती उत्पादन हुने र वार्षिक न्यूनतम रु २ लाख आम्दानी गर्न सकिने भन्दै अर्का किसान मोहन मण्डलले बताएका छन् । रासस

You might also like

Comments are closed.