तरकारीखेतीबाट ७ लाख आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका सिद्धराज सार्कीले भाडामा जग्गा लिएर व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । दुई दशकदेखि तरकारीखेती गर्दै आएका उनले डेढ बिघा जग्गा भाडामा लिएका हुन् । वर्षमा सार्कीले रु ७ लाख बढीको तरकारी बिक्री गरी गतिलो आम्दानी लिँदै आएका छन् । तरकारीखेतीको कमाइबाट ४ जनाको परिवारको खर्च समेत धानेका छन् ।

अरुको जग्गामा बस्दै आएका सार्कीले तरकारीखेतीबाट आएको आम्दानीबाट घरबासका लागि एक कट्ठा जग्गा खरिद गरेका छन् । “तरकारीखेतीको आम्दानीको रकम खर्च गरी छोरीको बिहे गरेँ”, सार्कीले भने, “जग्गा खरिद गर्दा लागेको ऋण तिर्न भ्याएँ, घरको पूरै खर्च तरकारीखेतीले धानिएको छ ।”

तरकारीखेती नै कमाइ गर्ने एकमात्र माध्यम रहेको सार्की बताउँछन् । पहिले नदीको बगरमा सार्कीले मौसमी रूपमा तरकारीखेती गर्थे । बगरखेती गर्दै जाँदा व्यावसायिक खेती गर्ने हिम्मत जागेको उनी बताउँछन् । आफन्तबाट केही रकम सापटीका रूपमा लिएर तरकारीखेती गरेको उनले जनाए । “पहिलो वर्षमै गतिलो आमदानी हात लागेपछि त्यो रकम तिर्न भ्याएँ, बचेको रकम तरकारीखेतीमै लगाएर काम गर्दै गए”, उनले भने, “त्यसपछि पैसाका लागि कसैलाई गुहार्नुपरेको छैन ।”

कृषि ज्ञान केन्द्रबाट सार्कीले व्यावसायिक तरकारीखेतीसम्बन्धी तालिम लिएका छन् । तालिम लिएपछि तरकारीखेती गर्ने आधुनिक तौरतरिका सिकेर उनी निपुण भएका छन् । तरकारीमा वडामै एक्लो किसान भएकाले नगरपालिकाबाट पनि सार्कीले टनेल अनुदानमा प्राप्त गरेका छन् । प्लाष्टिकको टनेलमा उनले तरकारी उत्पादन गर्दै आएका छन् ।

दुई दशक भारतमा काम गर्नुभएका सार्की तरकारीखेतीबाटै भारतको भन्दा तेब्बर बढी कमाइ हुन थालेपछि स्वदेशमा काम गर्न थालेको उनी बताउँछन् । कृषि कार्यमा गतिलो कमाइ हुने भएकाले भारतमा रहेका छोरालाई आफूसँगै सघाउन घर बोलाउने सोँच सार्कीको छ । बाह्रै महिना तरकारीखेती गर्दै आएका उनले बारीमा अहिले गोँलभेडा, बन्दा, बोडी, खुर्सानी, मुला, भाण्टा, हरियो मटर लटरम्म फलेको छ ।

हरियो खुर्सानीमात्र एक महिनामा रु २० हजारको बेचेको सार्की बताउँछन् । उनको बारीमा गोँलभेडामात्र रु ५० हजार बढीको उत्पादन भएको छ । सार्की लौका, काँक्रा, तितेकरेला, फर्सीलगायत रोप्ने तयारीमा छन् । श्रीमान्श्रीमती दुवैले काम गर्न नसक्ने भएकाले तीन जना दैनिक ज्यालादारीमा कामदार राखेर काम गराउँदै आएको उनको भनाइ छ ।

उत्पादित तरकारी भने स्थानीय बजारमा सहज रूपमा बिक्री हुने गरेको छ । बजार खोज्दै हिँड्नु नपरेको सार्की बताउँछन् । मौसमीभन्दा बेमौसमी तरकारीमा बढी आम्दानी हुने भएकाले त्यसमा उनले बढी जोड दिँदै आएका छन् । तरकारीखेतीलाई विस्तार गरी उत्पादन बढाएर बढी आम्दानी लिने उनको सोँच रहेको छ ।

“अहिले वर्षमा रु ६ लाखदेखि रु ७ लाखसम्म आम्दानी हुँदै आएको छ”, उनले भने, “त्यसलाई बढाएर दोब्बर पार्ने योजना छ ।” अनुदानमा सिँचाइका लागि विद्युतीय मोटर, बारी जोत्न पावरटिलरको व्यवस्थाका लागि सार्की माग गर्छन् । रासस

You might also like

Comments are closed.