रामपुर (पाल्पा) । रामपुर नगरपालिकाले विद्यालयका शिक्षकलाई योग शिक्षा प्रदान गरेको छ । नगरपालिकाले विद्यालयमा अध्यापन गराउने शिक्षकका लागि ३० दिने योग प्रशिक्षण कार्यक्रममार्फत आयोजना गरेको हो । योग प्रशिक्षकको व्यवस्था गरी विद्यालयका शिक्षकलाई योग सम्बन्धी शिक्षा दिइएको छ ।
योग प्रशिक्षण कार्यक्रमको सोमबार समापन गर्दै नगर प्रमुख रमणबहादुर थापाले स्वस्थ जीवन र स्वच्छ समाज निर्माणका लागि योग साधनाको आवश्यकता रहेको बताए । स्वस्थ जीवन र स्वच्छ मस्तिष्कले मात्र स्वस्थ समाज निर्माण हुने बताउँदै नगर प्रमुख थापाले विद्यार्थीलाई योग साधना सम्बन्धी ज्ञान विद्यालय शिक्षणको क्रममा प्रदान गर्नका लागि शिक्षकलाई प्रशिक्षण कार्यक्रम गरेको बताएका छन् ।
भौतिक पूर्वाधार मात्र विकास नभएको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कक्षा शिक्षणको क्रममा योग साधना सिकाई स्वस्थ मस्तिष्कको विकासका लागि कार्यक्रम आयोजना गरेको उनले बताए । साथै नगर प्रमुख थापाले अब विद्यालयमा योग सम्बन्धी कक्षा शिक्षण गर्न आग्रह समेत गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकत सुर्यदर्शन पण्डितले योग मानव जीवनको लागि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे । योगले मानिसलाई स्वस्थ बनाउने भन्दै यसको निरन्तरता दिन आवश्यक रहेको उनले बताए । विद्यालयका शिक्षक विद्यार्थी र समाजलाई योगको माध्यमबाट स्वस्थ संगै सकारात्मक सोँचको विकास गर्न आग्रह गरेका छन् ।
शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरले योग प्रशिक्षण पश्चात अब विद्यालयमा योग कक्षा सञ्चालन गर्न आग्रह गरिन् । योग प्रशिक्षक सुदिप गैरेले सकारात्मक सोँचको विकास संगै सभ्य, सुसंस्कृत र अनुशासित समाज निर्माणका लागि योगको महत्वपूर्ण भूमिका हुने भन्दै सिकेका सिपको माध्यमबाट विद्यार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।
जनविकास माध्यमिक विद्यालयका सहभागि शिक्षक कृष्णकला भण्डारीले आध्यात्मको माध्यमबाट नैतिकवान नागरिक निर्माणका लागि योग प्रशिक्षण कार्यक्रमले टेवा पु¥याउने भन्दै यो कार्यक्रम आयोजना गरेकोमा रामपुर नगरपालिकालाई धन्यवाद दिइन् , यस्तै ज्ञानमञ्जरी प्राथमिक विद्यालयका प्रधानाध्यापक दानस मल्ले योग प्रशिक्षकको सिप सिक्न पाउँदा खुशी लागेको भन्दै समुदायलाई स्वच्छ बनाउन प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नगरपालिका भित्रका ५२ विद्यालयका ५२ शिक्षकको सहभागिता रहेको योग प्रशिक्षण कार्यक्रमको सहजिकरण योग गुरु सुदिप गैरेले गरेका हुन् । रामपुर नगरपालिका वडा नं.७ किसानबारीको योगहलमा भएको योग प्रशिक्षण समापन कार्यक्रममा सहभागि शिक्षकलाई प्रमाण पत्र सहित योग सम्बन्धी पुस्तक प्रदान गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पण्डितको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख थापाको प्रमुख आतिथ्यता, शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका हुन् ।
Comments are closed.