नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव

गोरखा । गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ । गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताएका छन् ।

उद्योगले कच्चा पर्दाथको अभावमा माग अनुसार उत्पादन गर्नसक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘‘नेपाली हाते कागज उत्पादनका लागि हिमाली भेगका जंगलबाट लोक्ता खोजेर ल्याउनुपर्छ, शेर्पाले भने, ‘‘जंगलमा बाह्रै महिना लोक्ता पाउन पनि गाह्रो छ,।’’

उद्योगले उत्तरी गोरखाको धार्चे, चुमनुब्री र अजिरकोट गाउँपालिका क्षेत्रका जंगलबाट कच्चा पर्दाथ ल्याएर नेपाली कागज उत्पादन गर्दै आएको छ । ‘‘बर्षभरी तीन महिना फागुन चैत र बैशाख महिनामा जंगलमा अरु बेला भन्दा धेरै कच्चा पर्दाथ पाइन्छ ”, उनले भने, “तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।”

जङ्गलबाट झिकेर ल्याएको कच्चा पर्दाथ उद्योगसम्म ल्याउन सडक समस्याका कारण थप कठिनाइ हुने गरेको छ । उद्योगमा उत्पादित नेपाली कागज बिक्रीका लागि बजारको भने कुनै समस्या नरहेको शेर्पाले बताए । ‘‘उद्योगले जति उत्पादन गरेपनि बजारमा बिक्रीका लागि भने कुनै समस्या छैन’ उनले भने, ‘‘बरु सधैँ कच्चा पदार्थको अभाव हुने गरेको छ ।’’

मजदुरहरुले जङ्गलबाट झिकेर ल्याएको लोक्ता प्रतिक्विन्टल १५ हजार रुपैयाँमा उद्योगले खरिद गदै आएको छ । उद्योगमा एक क्विन्टल कच्चा पदार्थबाट दुईहजार थान (२०÷३० साइज) को कागज उत्पादन हुने शेर्पाले जानकारी दिए । शेर्पाको उद्योगमा उत्पादित ४० ग्राम तौलका कागज भने नेपाल बाहिरसमेत निर्यात हुँदै आएको छ । रासस

You might also like

Comments are closed.