पोखरा कलेज अफ म्यानेजमेन्टमा ग्राजुएसन समारोह सम्पन्न

पोखरा । पोखरा नदीपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) बाट स्नातक तहमा दीक्षित विद्यार्थीको ग्राजुएसन समारोह भएको छ । समारोहमा बीबीए र बीसीआइएस विषय अध्ययनरत कलेजका ७१ विद्यार्थीलाई कलेजले सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विद्यार्थीले ठूलो र सकारात्मक सोच राख्दा जीवनमा ठूलो अवसर प्राप्त हुने र जीवन सुखमय बन्ने बताए । उनले गुणस्तरीय विद्यार्थी उत्पादन गर्ने यो यात्रा थप उचाइमा लैजान कलेजले निरन्तरता दिने विश्वास व्यक्त गरेका छन् । पोखरा विश्वविद्यालयका परीक्षा नियन्त्रक तुलसीराम भण्डारीले विद्यार्थीलाई सीप विकास गर्न तथा देशमै बसेर अवसरको अधिकतम फाइदा उठाउन प्रेरित गरे ।

कार्यक्रममा विभिन्न विषय अध्ययनरत विद्यार्थीलाई प्रमाणपत्र, उत्कृष्ट श्रेणीमा उत्तीर्ण विद्यार्थीलाई विद्यार्थी प्रविना सुवेदीले लक्ष्मी विद्या पदक प्राप्त गरेकोमा विशेष सम्मान गरिएको छ । डिन लिस्टका विद्यार्थीहरू बीबीएका मञ्जिल श्रेष्ठ, अञ्जिला सुवेदी, पूजा सिग्देल, सारा गुरुङ, गरिमा काफ्ले, निशिका श्रेष्ठ, लुना सापकोटा, यज्जु शक्य र बीसीआइएसका श्रद्धा श्रेष्ठलाई पनि विशेष सम्मान गरिएको हो । कलेजले हालसम्म १८ ब्याच विद्यार्थी उत्पादन गरिसकेको छ ।

करिव १९ सयभन्दा बढी विद्यार्थी उत्पादन गरिसकेको कलेजले १ सय बढी डिन लिस्ट र १ दर्जन उपाधिप्राप्त पदक तथा सात जनाले विशेष पदक प्राप्त गरिसकेको कलेजका प्राचार्य लिना नेगी श्रेष्ठले बताइन् ।  विद्यार्थी अञ्जिला सुवेदीले कलेजमा बिताएका आफ्ना सम्झनाहरू स्मरण गर्दै विद्यार्थीलाई बधाई तथा शुभकामना र कलेज परिवारलाई धन्यवाद व्यक्त गरिन् । क्याम्पस सञ्चालक समिति सदस्य बिनोद कायस्थको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपप्राचार्य दीपेन्द्र पहारीले गरेका हुन् ।

 

You might also like

Comments are closed.