वीरगञ्ज नाका हुँदै ७ महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थको आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको ७ महिनामा वीरगञ्ज नाका हुँदै रु १ खर्ब ४ अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ ।

गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए ।

“पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो”, उनले भने । गत आवको सात महिनाको अवधिमा भने रु १ खर्ब ३ अर्ब ९२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो । कार्यालयका अनुसार चालु आवको ७ महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट रु ४३ अर्ब ११ करोड राजस्व सङ्कलन भएको छ । जबकी गत आवको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट रु ३८ अर्ब ६५ करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको ७ महिनामा रु ५१ अर्ब ७९ करोड बराबरको ५ लाख ८१ हजार ७९९ किलोलिटर डिजेल आयातबाट रु २३ अर्ब १० करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । त्यस्तै चालु आवको ७ महिनामा रु २२ अर्ब १४ करोड मूल्य बराबरको २ लाख ५५ हजार ५४२ किलोलिटर पेट्रोल आयात हुँदा रु १४ अर्ब ४९ करोड राजस्व सङ्कलन भएको छ ।

चालु आवको ७ महिनाको अवधिमा रु २० अर्ब ९० करोड मूल्य बराबरको १८ करोड २९ लाख ९४ हजार ६२४ किलोग्राम एलपिजी आयात भएको छ । सो आयात हुँदा रु ३ अर्ब ९१ करोड राजस्व सङ्कलन भएको छ । रासस

You might also like

Comments are closed.