काठमाडौं । साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तनमा सक्रिय संस्था ‘साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपाल’ ले नयाँ नेतृत्व पाएको छ । बुधबार सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सूचना प्रविधिविज्ञ डा. शालिग्राम पराजुलीको अध्यक्षतामा नयाँ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्राध्यापक गजेन्द्र शर्मा, उपाध्यक्षहरूमा विजयकुमार रोय, राजकुमार महर्जन र डा. अमृता शर्मा, महासचिवमा डा. भोजराज घिमिरे निर्वाचित भने सचिवहरूमा सरला कार्की, आभास अधिकारी, गंगा भण्डारी र तेजप्रसाद धमला चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी कमला अधिकारी अर्यालले सम्हालेका छन् ।
त्यस्तै सदस्यमा रिता पोखरेल, जयन्ती माला चापागाईँ, डा. शान्तिकला सुवेदी र ओमकार बस्नेत रहेका छन् । संस्थाको पहिलो बैठकले कार्यसमितिमा थप तीन जना थप्ने जनाइएको छ । सो अवसरमा संस्थाको प्रेसिडेन्ट काउन्सिल समेत गठन गरिएको छ । काउन्सिलमा संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा निवर्तमान अध्यक्ष प्रा.डा. सुवर्ण शाक्य र वर्तमान अध्यक्ष शालिग्राम पराजुली (सदस्य–सचिव) रहेका छन् । त्यस्तै सल्लाहकार समितिमा चिरञ्जीवी अधिकारी, प्रा.डा. सुवर्ण शाक्य, रोजाकिरण बासुकला र भीमध्वज श्रेष्ठलाई चयन गरिएको छ ।
साधारणसभामा महासचिवको वार्षिक प्रगति प्रतिवेदन तथा लेखा समितिको आर्थिक प्रतिवेदनमा छलफल गरी पारित गरिएको छ । दुई दशकभन्दा लामो समयदेखि नेपालको सूचना प्रविधि क्षेत्रलाई योगदान दिएका नवनिर्वाचित अध्यक्ष डा. शालिग्राम पराजुलीले साइबर सुरक्षा क्षेत्रमा नेपाललाई सशक्त बनाउन कार्ययोजना अघि बढाइएको बताए । शैक्षिक संस्थाहरू, उद्योग क्षेत्र तथा सरकारी निकायहरूसँग सहकार्य गर्दै साइबर सुरक्षा सम्बन्धी अनुसन्धान, नीति निर्माण तथा जनचेतना अभिवृद्धि गर्ने योजना प्रस्तुत गरेको उनी बताउँछन्।
“नेपालमा प्रविधिको तीव्र विकास भइरहँदा साइबर सुरक्षामा अझै धेरै गर्नुपर्नेछ, हाम्रो उद्देश्य भनेको नेपाललाई साइबर सुरक्षाको क्षेत्रमा अग्रणी बनाउनु हो, यसका लागि सीएसआरआई नेपालले अन्य सरोकारवालासँग सहकार्य गरी अनुसन्धान, नीति निर्माण र जनचेतना कार्यक्रममार्फत डिजिटल सुरक्षालाई बलियो बनाउनेगरी कार्यक्रम ल्याउने छौँ,” सञ्चार तथा सूचना प्रविभि मन्त्रालयका आईटी विज्ञसमेत रहेका अध्यक्ष डा. पराजुलीले भने ।
उनले सीएसआरआईको अगुवाइमा साइबर सुरक्षा सम्बन्धी पूर्वाधार निर्माण, जनचेतना कार्यक्रम, नीति निर्माणमा सहकार्य तथा अनुसन्धान प्रवद्र्धन गर्ने लक्ष्य रहेको उल्लेख गरेका छन् । संस्थाका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिका जष्रीले सीएसआरआईले स्थापनाकालदेखि नै शैक्षिक अनुसन्धान र उद्योग क्षेत्रको आवश्यकताबीचको खाडल पुर्ने, नवीन समाधानहरू विकास गर्ने र वास्तविक सुरक्षाका चुनौतीहरू समाधान गर्न काम गरिरहेको जानकारी दिए ।
नवनिर्वाचित सचिव सरला कार्कीले सीएसआरआई र कोरियास्थित इन्फर्मेसन टेक्नोलोजी एप्लिकेसन्स एन्ड म्यानेजमेन्ट (आईटीएएम) सोसाइटी बीच सहकार्य हुने सम्भावना रहेको जानकारी दिँदै उक्त समझदारीले अनुसन्धान र नवप्रवर्तनमा सहयोग पुग्ने धारणा राखेका छन् । सीएसआरआईका नवनिर्वाचित महासचिव डा. भोजराज घिमिरेले डिजिटल युगमा साइबर सुरक्षा कुनै विकल्प नभई आवश्यकता भएको बताउँदै यो क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य जरुरी रहेको बताएका छन् । डा. घिमिरेले सरकारी तथा निजी क्षेत्र, शैक्षिक समुदाय, तथा अन्य सरोकारवाला निकायलाई सीएसआरआई नेपालसँग सहकार्य गर्न आग्रह गरेका छन् ।
सीएसआरआई नेपालबारे :
सन् २०१८ मा स्थापना भएको सीएसआरआई नेपालले नेपालमा साइबर सुरक्षा क्षेत्रको अनुसन्धान तथा नवप्रवर्तनका लागि विभिन्न कार्य गर्दै आएको छ । यसअन्तर्गत अनुसन्धान केन्द्रको स्थापनाका पहलदेखि नीति निर्माणका लागि परामर्श, साइबर सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम तथा प्रविधि नवप्रवर्तनलाई प्राथमिकता दिँदै आइएको छ । डिजिटल युगको बढ्दो खतरालाई न्यूनीकरण गर्दै साइबर सुरक्षालाई सशक्त बनाउन संस्थाले दीर्घकालीन योजना अघि सारेको छ ।
सीएसआरआईले उद्योगका अग्रणी व्यक्ति, सरकारी निकाय र प्रविधि विज्ञहरूसँग सहकार्य गर्दै सुरक्षा जोखिम पहिचान गर्ने, साइबर हमलाको पहिचान प्रणाली सुधार गर्ने र डिजिटल क्षेत्रलाई सुरक्षित बनाउन अग्रणी भूमिका खेलेको छ । अनुसन्धानलाई व्यवहारिक प्रयोगसँग जोडेर संस्थाले साइबर सुरक्षाका चुनौतीहरू समाधान गर्न, डेटा सुरक्षा प्रवद्र्धन गर्न र सुरक्षित डिजिटल वातावरण निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
Comments are closed.