वीरगञ्ज नाका हुँदै ७ महिनामा रु ८ अर्ब ६८ करोड मूल्य धान–चामल आयात

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ७ महिनामा रु ८ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख ८ हजार २२९ किलोग्राम धान आयात भएको छ । गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो ।

गत आवको सोही अवधिमा यो नाका हुँदै रु ४ अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार ४१६ किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको ७ महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताए । “गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा धान–चामलको आयात बढेको देखिन्छ” उनले भने ।

कृषिप्रधान मुलुक नेपालमा धान मात्र नभएर चामल पनि विदेशी मुलुकबाट आयात हुँदै आइरहेको छ । चालु आवको ७ महिनामा यो नाका हुँदै रु १ अर्ब ३५ करोड मूल्यको एक करोड ३३ लाख ७४ हजार ८२६ किलोग्राम चामल आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु १ अर्ब ६ करोडको ८१ लाख १७ हजार १३० किलोग्राम चामल आयात भएको थियो ।

चालु आवको ७ महिनामा रु २ अर्ब ९६ करोड मूल्यको ५ करोड ७७ लाख १४ हजार ५८३ किलोग्राम मकै आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु २ अर्ब ९७ करोड मूल्य पर्ने ६ करोड ६० लाख ४९ हजार ९७२ किलोग्राम मकै आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ । रासस

You might also like

Comments are closed.