काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आगामी चैत ८ र ९ गते अधिवेशन गर्ने भएको छ । देशमा औद्योगिक वातावरण निर्माण गर्दै उद्योगी व्यवसायीको हितमा काम गर्ने उद्देश्य अनुरुप आजभन्दा १२ वर्ष अघि स्थापना भएको महासंघले आफ्नो तेस्रो अधिवेशन गर्न लागेको हो ।
महासंघले बबरमहलस्थित कार्की बैंकेटमा देशभरका करिव २ हजार उद्योगी व्यवसायीको सहभागितामा निर्वाचन सहितको महाधिवेशन गर्न लागेको हो । सो अधिवेशनले महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ । यसअघि महासंघको विधान अनुसार २९९ सदस्यीय कार्यसमिति र १७ सदस्यीय पदाधिकारी रहँदै आएकोमा अब १५१ सदस्यीय कार्यसमिति र ९ सदस्यीय पदाधिकारी मात्र रहनेछ । जसमा अध्यक्ष, महिला सहित २ उपाध्यक्ष, महासचिव, उपमहासचिव, संगठन, प्रचार विदेश र कोष हेर्ने गरी क्षेत्र तोकेरै ४ जना सचिव रहनेछन् ।
यसैगरी महासंघले सोही अवसरमा औद्योगिक प्रदर्शनी पनि गर्ने भएको छ । देशभित्र रहेका लघु, घरेलु, साना, मझौलादेखि ठूला उद्योगबाट उत्पादित बस्तुहरुको बजाररिकरण गर्नका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिए । ‘लामो समयको आर्थिक मन्दीको कारण अहिले उद्योगी व्यवसायीको मनोबल खस्किदो अवस्थामा छ,’ उनले भने, ‘औद्योगिक वातावरण निर्माण गर्दै देशभित्र आर्थिक गतिविधि चलायमान बनाउनका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको हो ।’
महासंघले आफ्नै साधारणसभाको अवसर पारेर २ दिनसम्म उक्त प्रदर्शनी गर्न लागिएको समेत उनले जानकारी दिए । ‘हामीले चैत ८ र ९ गते बबरमहल स्थित कार्की बैंकेटमा महासंघको वार्षिक साधारणसभा गर्दैछौं,’ उनले भने, ‘सोही अवसरमा हामीले देशभरका उद्योगी व्यवसायी उपस्थित गराउँदै उहाँहरुले उत्पादन गरेको वस्तुहरुलाई प्रदर्शनीमा राख्नेछौं ।’ साथै उक्त स्थललाई वस्तु उत्पादक र खरिदकर्ताको जमघट स्थल बनाइने समेत उनले जानकारी दिए ।
प्रदर्शनीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साना मझौला किसानदेखि ठूला उद्योगी व्यवसायीले उत्पादन गरेका वस्तुहरु रहने मेला उपसमितिका संयोजक गोपाल खनालले जानकारी दिए । ‘हामीले मेलामा साना, लघु, घरेलु देखि मझौला र ठूला गरी १ सय बढी स्टलहरु राख्दैछौं,’ उनले भने, ‘जहाँ कर्णालीमा पाइने जिम्बु, यार्सा, सिलाजित देखि पूर्वको छुर्पी, अलैची देखि चियाकपी सम्म रहनेछ ।’
मेलामा हरेक क्षेत्रका ठूला उद्योगहरुको उत्पादन समेत बिक्री तथा प्रदर्शनीमा राखिने उनले जानकारी दिए । महासंघको २ दिनसम्म चल्ने साधारणसभामा देशभरबाट ३ हजार उद्योगी व्यवसायी आउने अपेक्षा गएिको छ ।
Comments are closed.