रामपुरमा श्रमिक महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा प्रदान

रामपुर (पाल्पा) । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रामपुर नगरपालिकाले श्रमिक महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा प्रदान गरेको छ । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा निर्माण क्षेत्रमा कार्यरत तथा अन्य पेशा र व्यवसायमा सक्रिय श्रमिक महिलालाई शनिबार परामर्श तथा कानुनी सचेतना प्रदान गरेको हो ।

नगर उपप्रमुख बालकुमारी थापाले व्यवस्था परिवर्तन भएपनि अवस्था कस्तो छ भन्ने विषयमा जानकारी लिनका लागि यस पटक श्रमिक महिलाको उपस्थितिमा कार्यक्रम गरिएको बताइन् । उनले न्यायिक समितिमा ज्याला नपाएको गुनासोहरु कहिलेकाँही आउने गरेको र समस्याको समाधान गर्दै आएको बताउँदै रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति संग सहकार्य गरेर गत वर्ष मजदुरको बिमा गरिएको जानकारी दिइन् । आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने उनी बताउँछिन् ।

नगर प्रवक्ता कपिलबहादुर खाँणले श्रमिक महिलालाई पेशाप्रति सम्मान गर्दै आफु कार्यरत क्षेत्रमा थप दक्षता हासिल गर्दै अघि आग्रह गरेका छन् । महिलालाई राज्यले अधिकार सम्पन्न गरेपनि कतिपय अवस्थामा कानुनी जटिलताले कार्यान्वयनमा समस्या भएको र रामपुर क्षेत्रमा कार्यरत श्रमिकहरु जुनसुकै स्थानको भएपनि देखिएका समस्या समाधानका लागि प्रतिवद्ध भएर लाग्ने उनले प्रतिवद्धता जनाएका छन् ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामबहादुर नेपालीले श्रम शोषण हुन पनि नदिने र सहेर पनि नबस्ने प्रतिवद्धताका साथ अघि बढ्न आग्रह गरे । अधिकारका लागि एक भएर लाग्न अनुरोध गर्दै उनले महिलामा हुने हिंसा र कानुनी व्यवस्थाको बारेमा प्रशिक्षण समेत दिएका छन् । नगरपालिकाका नर्सिङ अधिकृत पुनम धितालले प्रजनन् स्वास्थ्य सम्बन्धी र महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पुजा परियारले महिलाको लागि राज्यले गरेको व्यवस्थासंगै हिंसाको बारेमा जानकारी गराएका छन् ।

कार्यक्रममा पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिका उपाध्यक्ष सुमन खाम्चाले श्रमिकको लागि कार्यक्रम आयोजना गरेकोमा आभार व्यक्त गरिन् । कार्यक्रममा पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिमा आवद्ध महिला श्रमिक सहभागी थिए । नगरपालिकाको सभाहलमा भएको उपप्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमले र सञ्चालन पार्वती परियारले गरेकी हुन् ।

You might also like

Comments are closed.