दूधको उत्पादन, गुणस्तर र बजारीकरणका लागि चितवनमा नयाँ परियोजना सुरु

चितवन । जिल्लामा उत्पादित दूधको गुणस्तर, उत्पादन र बजारीकरणका लागि नयाँ परियोजना सुरु गरिएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जिल्लामा उत्पादित दूधको गुणस्तर र उत्पादन बढाउन ‘मिल्की वे’ परियोजना सञ्चालनका लागि काम अघि बढाएको हो ।

जिल्लामा उत्पादित दूधको बजारीकरण, गुणस्तर र उत्पादन वृद्धि गर्न किसानलाई सहजीकरण गर्ने उद्देश्यले सो परियोजना ल्याइएको हो । सङ्घका अध्यक्ष किशोर बगालेले यस परियोजनामार्फत दूध उत्पादनको लागत घटाउने, पशु चौपायाको स्वास्थ्यमा पर्ने समस्या समाधानका लागि सहयोग पु¥याउने, यन्त्र उपकरणको प्रयोग बढाउने, बजार व्यवस्थापनमा सहयोग गर्ने, स्वच्छ तथा सफा दूध उत्पादन र सङ्कलनमा सहयोग गर्ने रहेको बताए ।

उनका अनुसार दुग्ध क्षेत्रको प्रथामिकता पहिचानमा सहयोग गर्ने र नश्ल सुधारमा समेत काम गरिनेछ । परियोजना सञ्चालनमा आएसँगै जिल्लामा रहेका ११५ दुग्ध उत्पादक सहकारी संस्था र त्यसमा आबद्ध किसान प्रत्यक्ष रुपमा लाभान्वित बन्नेछन् । दूध उत्पादन, बजारीकरण र मूल्य नपाउने समस्याबाट कृषकलाई बचाउनका लागि यो परियोजना फलदायी बन्ने आज यहाँ आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

सङ्घले सरोकारवालासँग लक्ष्यप्राप्तिका लागि के–कस्ता कार्यक्रम उपयोगी हुन्छन् भन्ने विषयमा आज अन्तरक्रिया गरेको थियो । अहिले दूधको भुक्तानी नपाएका कारण दूध उत्पादन बढाउन कठिन मानेका किसान यो परियोजना कार्यान्वयनसँगै लागत घट्ने हुँदा दूध उत्पादन बढाउन सहयोग पुग्ने सो अवसरमा बताइएको थियो । कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले दूधको लागत मूल्य घटाउनसके देशलाई दूधमा आत्मनिर्भर बनाउन सकिने बताए ।

स्थानीय बजारमा दूधको मागमा एकरुपता नहुँदासमेत किसान चिन्तित बन्ने गरेको भन्दै उनले दूधको गुणस्तर कायम गर्नसके माग बढ्ने बताएका छन् । परियोजनामा सहकार्य गरेको हेफर इन्टरनेशनलका कार्यक्रम निर्देशक डा केशव शाहले नेपालको दुग्ध उत्पादनका क्षेत्रमा रुपान्तरण गर्नका लागि आफूहरुले काम अघि बढाएको बताए । दूध उत्पादनबाट कसरी फाइदा लिन सकिन्छ भन्ने विषयमा किसानलाई सहजीकरण गर्दै नेपाललाई दूधमा आत्मनिर्भर बनाउनका लागि आफूहरुले विगत लामो समयदेखि काम गर्दै आइरहेको उनको भनाइ थियो ।

परियोजनाका हेर्दै आएका नाफा नहुँदा, प्रतिस्पर्धी छैनन् भन्ने हुँदा किसान सन्तुष्ट बन्न नसकेको भोला श्रेष्ठ बताउँछन् । दूधमा गुणस्तर कायम गर्नका लागि वंशाणुगत गुणमा ख्याल गर्न आवश्यक रहेको उनको भनाइ थियो । जिल्लामा हाल दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये १ लाख ५० हजार लिटर दूध जिल्ला बाहिर बिक्री हुने गरेको छ ।

सङ्घले यस वर्ष अबका २ महिना विभिन्न कार्यक्रम र सहयोगमार्फत किसान तथा सहकारीलाई सहयोग गर्दैछ । वार्षिक रुपमा सम्झौता गरेर स्थानीय तहसहितको सहकार्यमा हेफरसँग सहकार्य गरेर काम गर्नका लागि सङ्घसित सम्झौता भइसकेको छ । रासस

You might also like

Comments are closed.