काठमाडौं । नेपालका लागि युगाण्डाका नवनियुक्त राजदुत जोयस काकुरामात्सु किकाफुन्डाको उपस्थितीमा काठमाडौंमा द्धिपक्षीय व्यापार तथा लगानीको बारेमा छलफल सम्पन्न भएको छ ।
एसियन इन्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) को आयोजनामा भएको उक्त छलफलमा युगाण्डाका गैर आवसीय नवनियुक्त राजदुत प्रोफेसर किकाफुन्डाले युगाण्डा तथा नेपालबिच धेरै समानता रहेको बताउँदै नेपाली व्यवसायीलाई युगाण्डामा लगानी गर्न अनुरोध गरिन् ।
नेपाल तथा युगाण्डाको प्रतिब्यक्ति आय तथा जनसंख्या लगाभग समान रहेको जानकारी दिँदै उनले धेरै विश्व मंचमा पनि नेपाल तथा युगाण्डाले साथसाथै उपस्थिती जनाएको बताइन् । नेपाल आगामी वर्ष अल्पविकसित राष्ट्रको समुहबाट विकासोन्मुख राष्ट्रको समुहमा स्तारेन्नती हुन लागेको तथा युगाण्डा पनि गत वर्ष स्तरोन्नतीको लागी योग्य भएको उनले जानकारी दिइन् ।
किकाफुन्डाले युगाण्डामा लगानीमैत्री वातावरण रहेको तथा लगानीकर्तालाई उद्योग खोल्न निशुल्क जमिन दिइने, आयकरमा छुट दिइने तथा अन्य विविध सुबिधाहरु रहेको र युगाण्डाको कफि विश्वमा धेरै लोकप्रिय रहेको बताउँदै उनले नेपालमा पनि कफिको बारेमा चासो रहेको थाहा पाउँदा खुसि व्यक्त गरिन् ।
यसका साथै, नेपालका लागि युगाण्डाका प्रस्तावित कन्सुलर जनरल ब्यवसायी विनय उपाध्यायले नेपाल तथा युगाण्डाबिच जनताको स्तरमा पनि सम्बन्ध बढ्दै गएको बताए । उनले आगामी दिनमा नेपाल तथा युगाण्डाबिच अझ धेरै लगानी तथा ब्यापारमा जोड दिने जनाए ।
करिब दुइ दर्जनभन्दा बढि उद्योगी तथा ब्यापारीले सो छलफलमा राजदुतसँग युगाण्डामा लगानीको अवसरका बारेमा अन्तर्क्रिया गरेका छन् । निर्माण व्यवसायी, पर्यटन व्यवसायी तथा उद्योगी एवं व्यवसायीले सो अवसरमा युगाण्डाले लगानीकर्तालाई दिएको प्रोत्साहन सम्बन्धमा आफ्ना भनाइ राखेका छन् ।
Comments are closed.