पोखरा । दोस्रो संस्करणको नेकोस कप फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्य तार क्लब र गन्नी फुटबल क्लब भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो सेमिफाइनल खेल मार्फत गन्नी फुटबल क्लब फाइनलमा पुगेपछि यो फाइनल भिडन्त पक्का भएको हो । गन्नीले डिफेन्डिङ च्याम्पियन एल सी ब्रदर्श युनाइटेडलाई १–० गोलअन्तरले पराजित ग¥यो ।
बिहीबार भएको प्रतिस्पर्धात्मक खेलको २९ औँ मिनेटमा गन्नी फुटबल क्लबका विदेशी खेलाडी रिचार्ड अफेथाले गरेको गोल नै निर्णायक बन्न पुगेको थियो । उनी म्यान अफ दि म्याच समेत बन्न सफल भए । अब उपाधिको लागि शनिबार दिउँसो १ बजे सूर्य तारा र गन्नीले खेल्ने सूर्य तारा क्लबका अध्यक्ष तथा खेल महोत्सवका संयोजक विष्णु पुनले जानकारी दिए ।
सुर्य ताराले पहिलो सेमिफाइनल खेलमा विष्णु पादुका क्लब हेम्जालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । फुटबल प्रतियोगितामा प्रथम हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्नेछ। द्वितीय हुने टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । वेस्ट प्लेयरलाई १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले जनाए । फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
खेल महोत्सवमा फुटबलका अलावा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत समावेश रहेको नेपाल खेलकुद महासङ्घ कास्कीका अध्यक्ष ईश्वर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार शुक्रबार बिहान ११ बजेबाट सय मिटर खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता र राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सह प्रायोजकमा बन्दिपुर केबल कार प्रालि रहेका छन् । प्रवद्र्धकको रुपमा पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय खेलकुद परिषद नेपाल, प्रदेश खेलकुद परिषद गण्डकी र नेपाल पर्यटन बोर्ड रहेको जनपरिचालन उपसमिति संयोजक समेत रहेका महासङ्घ कास्की अध्यक्ष अधिकारीले बताए । सूर्य तारा क्लब र नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा पोखरा २९ स्थित प्रस्तावित लेखनाथ रङ्गशालामा यो खेल महोत्सव भइरहेको छ ।
Comments are closed.