नेपाल इन्जिनियरिङ कलेज र मलेसियाको जे एस जे कलेज बीच शैक्षिक सहकार्य हुने

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) र मलेसियाको जे एस जे कलेज बीच शैक्षिक समझदारी भएको छ । कार्यक्रम आदानप्रदान गर्ने, अनुसन्धान तथा परियोजनामा सहकार्य गर्ने, प्रबिधि र स्रोतको साझा प्रयोग, तालिम तथा सेमिनार आयोजना गर्ने हेतुले दुइवटा शैक्षिक संस्था बीच समझदारी भएको हो ।

समझदारीमा नेकको तर्फबाट सहायक प्राचार्य इन्जिनियर सह–प्राध्यापक मोहनध्वज के.सी. र जे एस जे कलेज मलेसियाको तर्फबाट चिफ कार्यकारी अधिकृत डा. के. हरिकृष्णनले हस्ताक्षर गरेका छन् । सहायक प्राचार्य के.सी.ले समझदारीले दुई कलेजको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न, विद्यार्थीहरुको पढाई र अनुसन्धानलाई अझ फराकिलो बनाउन टेवा पुग्ने बताए ।

विद्यार्थीको ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्न, पढाईको गुणस्तरीयता कायम गर्न तथा विद्यार्थीलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै एक्सपोज हुने अवसर प्रदान गर्न विभिन्न देशका प्रतिष्ठित कलेजसँग हाम्रो सहकार्य भइरहेको हुन्छ । त्यसैअनुरुप मलेसियाको प्रतिष्ठित कलेज जे एस जे कलेजसँग पनि शैक्षिक समझदारी कायम गरिएको नेकका सहायक प्राचार्य केसीले जानकारी दिए ।

जे एस जे कलेज सीपमा आधारित शिक्षा प्रदान गर्ने मलेसियाको उत्कृष्ट कलेज हो । यसलाई मलेसियाको मानव संसाधन मन्त्रालय अन्तर्गतको जबातन पेम्बाङ्गुनन केमारिहनले फाइभ स्टार दिएको छ । विगत १० वर्षदेखि कलेजले विश्वब्यापी औद्योगिक उच्च दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । मओयू कार्यक्रमको संयोजन इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन तथा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स विभागका विभागीय प्रमुख इ. सह–प्राध्यापक सचिन श्रेष्ठले गरेका हुन् ।

You might also like

Comments are closed.