चितवन । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले यहाँ विकास र परीक्षण गरेका पाँच जातको सिफारिस गर्ने तयारी गरेको छ । झन्डै १२ वर्षअघिदेखि मुलुकका विभिन्न स्थानमा परीक्षण गरिँदै आइएका जातहरूको सिफारिस गर्ने तयारी गरिएको हो ।
सिफारिस गर्न लागिएका जातहरूमा उन्नत जातमा बिजीबीवाइपिओपी र टिएलबीआरएसओ–७एफ१६ जात रहेको छ । अहिले परीक्षणका क्रममा रहेका र अब यसलाई सिफारिस गर्ने तयारी गरिएको कार्यक्रमका संयोजक तीर्थराज रिजालले जानकारी दिए । असारसम्ममा बीउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्रमा सिफारिस गर्ने तयारी गरिएको छ । केन्द्रले अनुमोदन गरेर राष्ट्रिय बीउ नियन्त्रण केन्द्रमा पठाउँछ । त्यहाँ अनुमोदन भएपछि व्यावसायिक उत्पादनका लागि आउने रिजालले बताए ।
यस कार्यक्रममार्फत नेपालमा अहिलेसम्म उन्नत जातका लागि ३१ वटा मकैका बीउका जात सिफारिस गरिएको छ । जुन नेपाली जनताले रुचाएका छन् । उच्च पहाडका लागि गणेश–१ र २, मध्यपहाडका लागि मनकामना–१, ३, ५, ७ र ९ जात सिफारिस गरिएको छ । यस्तै तराईका लागि रामपुर जातका मकै सिफारिस गरिएको उनी बताउँछन् । अहिले सिफारिस गर्न लागिएका मकै तराई र मध्यपहाडी क्षेत्रका लागि उपयुक्त हुने छ ।
किसानलाई चाँडो पाक्ने खालका मकै पनि सिफारिस गरिएको छ । जसमा अरुण–१, २, ३, ४, ५, ६ जातका रहेका छन् । यी मकै लगाएको ८० देखि ९० दिनमा तयारी हुने गर्छन् । अन्य मकै एक सय २० देखि एक सय ५० दिनसम्म लाग्ने रिाजालको भनाइ छ । कार्यालयले हाइब्रिड मकैतर्फ अहिलेसम्म १० जात सिफारिस गरेको छ । अहिले तीन जात सिफारिसको चरणमा रहेको छ ।
सिफारिस गर्न लागिएका जात सिएएच–१५११, सिएएच–११८७, सिएएच–१९ छन् । यी मकैमा तापक्रम सहन सक्ने क्षमता भएकाले भित्री मधेस र तराईका जिल्लाका लागि सिफारिसको काम भइरहेको छ । रिजाल भन्छन्, “विसं २०७७ देखि हामीले कुनै जातको मकै सिफारिस गरेका छैनाँै, अब पाँच जातका मकै सिफारिसको तयारीमा छौँ ।” यी तीन जात आगामी वर्ष सिफारिस गर्ने तयारी छ ।
नेपालमा पहिलोपटक सन् २००१ मा गौरव जातको हाइब्रिड मकै सिफारिस गरिएको थियो । त्यसपछि यता रामपुर हाइब्रिड–२, ४, ६, ८, १० लगायत मकै सिफारिस भइसकेको छ । हाइब्रिड जातमा नौवटा तराईका लागि हुन् भने एउटा मध्यपहाडका लागि हो । कार्यक्रमअन्तर्गत अहिलेसम्म किसानले नरुचाएका आठवटा जातलाई सूचीबाट हटाइसकिएको छभने पाँचवटा जातलाई सूचीबाट हटाउन सिफारिसको तयारी थालिएको छ ।
चलनचल्तीमा नआएका, रोग र कीराले समस्या बनाएका यस्ता जातलाई सूचीबाट हटाउन सिफारिस गरिने गरिन्छ । यस कार्यक्रमले पहिलोपटक विसं २०३३ मा रामपुर कम्पोजिट मकैको बीउ सिफारिस गरेर बीउ उत्पादनको काम सुरु गरेको थियो । रासस
Comments are closed.