राष्ट्र बैंकद्वारा सुझाव सङ्कलन

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि वीरगञ्जका उद्योगी तथा व्यवसायीसँग सुझाव सङ्कलन गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज आगामी आवको लागि पूर्व बजेटकालिन अन्तरक्रिया गरी आगामी बजेटमा समावेश गर्नुपर्ने विषयका सन्दर्भमा सुझाव सङ्कलन गरेको हो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले पछिल्लो समय उद्योगी तथा व्यवसायीको मनोबल खस्किएकाले आगामी आवको बजेटमार्फत मनोबल उकास्ने खालको बजेट ल्याउन अनुरोध गरेका छन् । अध्यक्ष अग्रवालले सरकार र निजी क्षेत्रबीच विश्वासको अभाव भएकाले निजी क्षेत्रको मनोबल क्रमशः घट्दै गइरहेको बताएका छन् ।

अर्थशास्त्री दीपेन्द्रकुमार चौधरीले सरकारले घाटाको बजेट ल्याउनुभन्दा यथार्थपरक र वस्तुनिष्ठ बजेट ल्याउन सुझाव दिए । ‘‘सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसक्ने घाटाको बजेट ल्याएर कुनै काम छैन,’’ उनले भने, ‘‘वस्तुपरक र यथार्थबजेट ल्याएर कार्यान्वयन गर्न जरुरी छ ।’’

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले वीरगञ्ज महानगरसँग पर्याप्त कृषियोग्य जमिन भएपनि आवश्यक स्रोतको अभाव भइरहेको बताए । प्रमुख प्रशासकीय अधिकृत कर्णले वीरगञ्जबाट मुलुकले सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने भएपनि वीरगञ्जको पूर्वाधार र अन्य क्षेत्रको विकासमा सङ्घीय सरकारले बेवास्ता गरेको आरोप लगाए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्ष हरि गौतमले सरकारले हचुवाको भरमा बजेट ल्याउने र कार्यान्वयन नगर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको औल्याए । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका निर्देशक सत्येन्द्रराज सुवेदीले उद्योगी व्यवसायीले दिएका सुझावलाई लिपीबद्ध गरेर सरकारलाई हस्तान्तरण गर्ने बताए ।

राष्ट्र बैंकका उपनिर्देशक विष्णुप्रसाद सुवेदीले बजेट सुझाव सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । राष्ट्र बैंकका वीरगञ्ज कार्यालय प्रमुख सुशील पौडेलले यस्ता छलफलमूलक कार्यक्रमले बजेट निर्माणमा मार्गनिर्देश गर्ने बताए । रासस

You might also like

Comments are closed.