wada auto show

शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सरीमा बनेकोे शीतभण्डार (चिस्यान केन्द्र) सञ्चालनका लागि गाउँपालिकाले व्यवसायी खोज्न थालेको छ । रु ५ करोडभन्दा बढी लागतमा बनेको शीतभण्डार उपयोगविहीन भएपछि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने निष्कर्षमा पालिका पुगेको गाउँपालिकाले जनाएको छ ।

पूर्वतयारीविना बनाइएको शीतभण्डार सञ्चालनमा ल्याउन कठिन भएको छ । गाउँपालिकाको मुख्य बाली उखु र केराखेती हो तर शीतभण्डारमा आलु र प्याज मात्रै राख्न मिल्ने भएकाले शीतभण्डार प्रयोगमा नआएको हो । गाउँपालिका उपाध्यक्ष गीता चौधरीले निजी क्षेत्रबाट शीतभण्डार सञ्चालनका लागि कार्यविधि तयार गरिएको बताइन् । गाउँपालिका आफैँले शीतभण्डार सञ्चालनका लागि धेरै प्रयास गरे पनि सफल नभएको उनी बताउँछिन् ।

“किसानलाई आलु, प्याज उत्पादनका लागि प्रोत्साहन गर्न अनुदानको कार्यक्रम पनि अगाडि सा¥यौँ । त्यसका लागि चालु आर्थिक वर्षमा अनुदान दिनका लागि आलुमा रु १० लाख र प्याजमा रु चार लाख बजेट नै विनियोजन गरिएको छ । त्यसका लागि आवेदन पनि माग्यौँ तर किसानले चासो राखेनन्”, उपाध्यक्ष चौधरीले भनिन् ।

एक वर्षअघि शीतभण्डार गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । त्यसपछि पनि पालिकाले केही अधुरा काम सम्पन्न गरिसकेको छ । लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताएका छन् । शीतभण्डारको क्षमता एक हजार मेट्रिक टन छ । रासस

You might also like

Comments are closed.