wada auto show

वीरगञ्ज नाकाबाट १ खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको ८ महिनामा वीरगञ्ज नाका भएर रु १ खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

गत आवको ८ महिनाका तुलनामा चालु आवको सोही अवधिमा रु १ अर्ब ६७ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । गत आवको ८ महिनामा रु १ खर्ब २० अर्ब ५३ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको आयात र राजस्व बढेको बताए ।

“अहिले पूर्वाधार निर्माणको समय भएकाले पनि पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ”, उनले भने । कार्यालयका अनुसार, चालु आवको आठ महिनामा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट रु ५० अर्ब १३ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु ४४ अर्ब ८० करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको ८ महिनामा रु ६१ अर्ब ४५ करोड बराबरको ६ लाख ८५ ९९१ किलोलिटर डिजेल आयातबाट रु २७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक लामिछाने बताउँछन् । यस्तै, चालु आवको ८ महिनामा रु २५ अर्ब ३० करोड मूल्यको २ लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल आयात हुँदा रु १६ अर्ब ४८ करोड राजस्व सङ्कलन भएको छ ।

चालु आवको ८ महिनामा रु २४ अर्ब पाँच करोड मूल्य बराबरको २१ करोड ४२ हजार ७८१ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । यसबाट रु ४ अर्ब ५० करोड राजस्व सङ्कलन भएको छ । गत आवको ८ महिनामा भने रु १९ अर्ब ५२ करोडको १८ करोड ६८ लाख १२ हजार १२० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो । रासस

You might also like

Comments are closed.