रामपुरमा रमजानको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् ईफ्तार कार्यक्रम

सुशीला रेग्मी/रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिका वडा नं ४ को कार्यालयले नयाँ वर्ष २०८२ तथा ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान २०८१ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् ईफ्तार कार्यक्रम गरेको छ ।

वडा कार्यालय देविस्थानमा वडाध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा कार्यक्रम भएको हो । वडाध्यक्ष रानाले विभिन्न समुदाय, जातजाति, भाषाभाषी, संस्कृति, रितिरिवाजले भरिपूर्ण वडा नं ४ रहेको बताए । वडामा बसोबास गर्ने सबै जातजाती, समुदाय, भाषाभाषी एक आपसमा सहिष्णुता कायम रहेको र एक समुदायले अर्को समुदायको दुख सुखमा सहयोग र साथ दिदै आएको वडाध्यक्ष राना बताउँछन् ।

कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख दोवराज तिवारी रहेका हुन् । प्रमुख अतिथि कार्यवाहक नगर प्रमुख तिवारीले सबै नेपालीमा एकापसमा सद्भाव तथा भाइचारा कायम राख्नुपर्ने बताए । रामपुरमा पनि सबै फरक–फरक समुदाय, जातजाती भएपनि एक आपसमा सहकार्य र समन्वय गर्दै सामाजिक लगायत विभिन्न कार्यमा सक्रिय भएर अगाडी बढेको कार्यवाहक नगर प्रमुख तिवारीले जनाएका छन् ।

कार्यक्रममा रामपुर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत चेमनप्रकाश पोखरेल, नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष हाजि हजिलदिन मिया, समाजसेवीहरु हमिद अलिमिया, विष्णुप्रसाद आचार्य, विष्णुबहादुर सारु, दुर्गादेवी राना, नेपाली कांग्रेस वडा कार्यसमितिका कार्यवाहक वडा सभापति विष्णुबहादुर जिसी, नेकपा एमाले वडा कमिटी उपाध्यक्ष ओमनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टिका नगर सदस्य टेकबहादुर क्षेत्री, निवर्तमान वडा सदस्य पार्वती परियार, सहिद बहुमुखी क्याम्पस रामपुरका निवर्तमान स्ववियु सभापति ल्याकत अलि, कालिका माविका प्रधानाध्यापक मनिराज अधिकारी, गोदाम चौतारी टोल विकास संस्थाका संयोजक मोहन राना, बाङ्गेपसल भिमसेन टोल विकास समिति संयोजक धनबहादुर श्रेष्ठ, ईस्लामपुर टोल विकास संस्थाका संयोजक सायबा बेगम लगायतले बोल्दै वडाले गरेको यस अनुकरणिय कार्य आगामी दिनमा नगरपालिका कार्यालयले पनि आयोजना गर्नुपर्नेमा जोड दिएका छन् ।

हाफिज कमरुदिन मियाको पवित्र कुरआन मजिद वाचनबाट सुरु भएको कार्यक्रममा मदरसा नुरुल हुदा आधारभुत विद्यालयका प्रधानाध्यापक अबुल कलामले रमजानबारे र ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक रामबहादुर नेपालीले समुदाय र प्रहरी साझेदारी सम्बन्धी जानकारी गराएका थिए । वडा सदस्य कमला रुचालको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सदस्य मोहन सिं रानाले गरेका हुन् ।

यो कार्यक्रम रामपुर नगरपालिकामा पहिलो पटक वडा नं ४ को वडा कार्यालयले आयोजना गरेको हो । वडाले यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिदै जाने वडा सदस्य मोहम्मद ताजिम शेखले बताए । रामपुर नगरपालिकाको वडा नं ४ मा बाक्लो संख्यामा मुस्लिम समुदायको बसोबास छ ।

You might also like

Comments are closed.