सुशीला रेग्मी/रामपुर (पाल्पा) । मुटु, दम, खोकीलगायत रोगको औषधोपचारका लागि गिरामती श्रेष्ठलाई अस्पताल पुग्न निकै सास्ती हुने गर्दछ । उमेरले ८५ वर्ष पुगेकी उनलाई शारीरिक अश्वस्तताका कारण भरसक उपचारका लागि अस्पताल जान नपरे हुन्थ्यो जस्तो लाग्छ । शारीरिक अवस्था कमजोर भएकाले सवारीसाधनमार्फत लामो यात्रा गरेर बाहिर अस्पतालमा जाने झन्झटभन्दा रोगसँग लडेर बस्न तयार हुन्छिन् ।
यस्तो परिस्थितिमा गाउँमा स्वास्थ्य शिविरमार्फत विशेषज्ञसहित औषधोपचार सेवा पाउँदा उनी खुसी छिन् । रामपुर नगरपालिका–८ रानीवास बस्ने गिरामती गाउँमा उपचार सेवा पाइने थाहा पाएपछि लठ्ठी टेकेर नातिनीको सहारामा शिविरमा पुगिन् । शिविरमा आफ्ना समस्याबारे सबै स्वास्थ्य परीक्षणसहित औषधि सेवा पाउँदा आफूलाई तत्काललाई अस्पताल जाने समस्या टरेको गिरामतीले बताइन् ।
रामपुर नगरपालिकामा शनिवार आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमार्फत उनले मुटु, सुगर, प्रेसर, श्वासप्रश्वाससम्बन्धी परीक्षण गरी औषधि लिइन् । सो समस्याका लागि यसअघि उनी भैरहवास्थित अस्पतालमा पुगेर उपचार सेवा लिँदै आएकी थिइन् । “बुढेसकालमा औषधि गर्न टाढा जान सकिँदैन, सवारीमार्फत जाँदा बुढ्यौली शरीर थाकेर कमजोर हुन्छ, उपचार गर्न गएको बिरामीमा झन् समस्या थपिन्छ”, उनले भने, “गाउँघरमा स्वास्थ्य शिविरमार्फत उपचार, औषधि सबै सेवा पाउँदा हामी जस्ता अशक्त नागरिकलाई सहज भएको छ । गाउँमा बेलाबेलामा शिविर भए ज्येष्ठ नागरिक बढी लाभान्वित हुनेछन् ।”
गाउँघरमा आयोजना हुने स्वास्थ्य शिविरले अशक्त, ज्येष्ठ नागरिक, बालबालिकालाई उपचारमा सहज भएको उनकी नातिनी मञ्जु श्रेष्ठले बताइन् । ज्येष्ठ, अशक्त नागरिकलाई सहरबजारमा औषधि उपचारका लागि लैजान कठिनाइ हुने गरेको उनले अनुभव व्यक्त गरिन् । “ज्येष्ठ नागरिकलाई बाहिर उपचारका लागि लैजान खर्च, यात्रालगायत विषयमा समस्या हुन्छ, गाडीमा लिएर जाँदा लामो यात्राले झन् बिरामी बनाउँछ, अस्पतालमा पालो पर्खेर बस्नुपर्दा दुःखर झन्झट हुन्छ । यसरी गाउँमै हुने स्वास्थ्य शिविरले बाहिर लैजानुपर्ने समस्या हट्नेछ”, उनले भनिन् ।
रोटरी क्लब अफ रामपुर र रोट ¥याक्ट क्लब सेन्ट्रल बुटवलको संयुक्त आयोजना तथा रामपुर नगरपालिकाको संरक्षणमा भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अशक्त, ज्येष्ठ नागरिक, महिलाले उपचार सेवा लिएका छन् । बिरामीले बाहिर अस्पतालमा पुगेर सेवा लिन यात्रा, सडक, आर्थिकलगायत विविध समस्याले सास्ती हुने भएकाले घरआँगनको शिविरले सजिलो बनाएको रामपुर–६ तिलकपुरका डेमनाथ दर्जीले बताए । उनले शिविरमार्फत प्रेसर, श्वासप्रश्वास जाँचपश्चात् औषधि लिए । औषधि तथा उपचारमा खर्च गर्नुनपर्दा बिरामीलाई धेरै राहत भएको उनले सुनाए ।
शिविरले गाउँमा बिरामीलाई उपचार तथा औषधि सेवा दिएपछि अस्पतालसम्म आउनेजाने खर्च, बास बसेर उपचार गर्नुपर्ने, औषधिमा बुझाउनुपर्ने खर्चको समस्या हट्ने रामपुर–५ सानीअमराईका दोवराज ढुङ्गानाले बताए । उनले शिविरमा विशेषज्ञ चिकित्सकबाट मुटु, प्रेसर जाँच गराएका हुन् । शिविरमा निःशुल्क उपचार सेवासहित औषधि पाउँदा बिरामी खुसी छन् ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलका वरिष्ठ मुटुरोग विशेषज्ञ डा विशाल केसीसहितको ६५ जना स्वास्थ्यकर्मीको टोलीले मुटु, मिर्गाैला, सुगर, प्रेसर, जनरल फिजिसियनलगायत रोगको जाँच गरी बिरामीलाई निःशुल्क औषधि वितरण गरेको रोटरी क्लब अफ रामपुरका अध्यक्ष कीर्तिनाथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोग, रामपुर बचत तथा ऋण सहकारी संस्था, रामपुर आयुर्वेद अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
रोटरी क्लब अफ रामपुरले स्वास्थ्य शिविर, शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधि तालिम, वृक्षारोपण, फरक क्षमता भएका नागरिकलाई अपाङ्गता सहायता सामग्री वितरण, बजार क्षेत्रमा पुग्न मुख्य सडक तथा नाकामा सूचना बोर्डलगायत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । साथै विदेशस्थित रोटरी क्लबसँग समन्वय गरेर ठूला कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
शिविरको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति तथा रोटरी क्लब अफ रामपुरका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले गाउँघरमा आयोजना हुने स्वास्थ्य शिविरले नागरिकलाई सहज सेवा दिन सहयोग पुग्ने बताए । रोटरी क्लबले सामाजिक भावनाका साथ शिक्षा, स्वास्थ्य, सामाजिक सङ्घ संस्थामा विभिन्न काम गर्दै आइरहेकाले यस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ । रासस
Comments are closed.