मुटु तथा मिर्गौलाका करिव ७ सय बिरामी लाभान्वित

सुशीला रेग्मी
रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविरमा मुटु, मिर्गौला रोगका बिरामी लाभान्वित भएका छन् । शनिवार आयोजना गरिएको शिविरमार्फत यस क्षेत्रका करिव सात सय मुटु तथा मिर्गौला रोगका बिरामीले स्वास्थ्य परीक्षण तथा औषधी सेवा लिएका छन् ।

रोटरी क्लब अफ रामपुर र रोट¥याक्ट क्लब सेन्ट्रल बुटवलको आयोजना तथा रामपुर नगरपालिकाको संरक्षणमा भएको बृहत निःशुल्क स्वास्थ्य शिविरमा मुटु तथा मिर्गौला रोग विशेषज्ञबाट बिरामीको स्वास्थ्य जाँच तथा औषधोपचार सेवा दिइएको हो । गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राविधिक सहयोगमा बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर विशाल केसीसहितको ६५ जना स्वास्थ्यकर्मीको टोलीले मुटु, मिर्गौला, सुगर, प्रेसर, जनरल फिजिशियन जस्ता रोगको जाँच गरी बिरामीलाई निःशुल्क औषधी वितरण गरिएको छ ।

पछिल्लो समय खानपानका कारण मुटु तथा मिर्गौला रोगका बिरामी ह्वातै बढेको हुँदा रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनका लागि स्वस्थ्य व्यवहार, खानपान, व्यायाममा ध्यान दिनुपर्ने गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए । रोटरी क्लब अफ रामपुरका अध्यक्ष कृतिनाथ श्रेष्ठले यस क्षेत्रमा बसोबास गर्ने मुटु तथा मिर्गौल रोगका बिरामीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै उनीहरुको सहजताका लागि गाउँघरमा नै शिविर सञ्चालन गरी सेवा दिइएको जानकारी दिए । क्लबले दुई वर्ष अघि पनि गौतम बुद्ध सामुदायिक मटु अस्पतालसंग समन्वय गरेर स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

शिविरको अवसरमा जनरल फिजिसियन सेवासहित इको, इसिजी, ल्याव तथा औषधी वितरण समेत गरिएको छ । शिविरमा स्वास्थ्य जाँच सहित निःशुल्क औषधी पाउँदा बिरामी खुशी भएका छन् । रामपुर वचत तथा ऋण सहकारी संस्था, रामपुर आयुर्वेद अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

 

 

You might also like

Comments are closed.