काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो ।
मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १४६ रुपैयाँ ५० पैसा, १४८ रुपैयाँ र १४९ रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ । यसैगरी निगमले अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर नौ सय ५२, पोखरामा ७८२ र भैरहवामा ७६७ तोकेको छ ।
इन्डियन आयल कर्पोरेसशनबाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टितेल र हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
Comments are closed.