रामतुलसी नमुना माविमा नयाँ शैक्षिक सत्रबाट सैलुन सञ्चालनको तयारी गरिदै

सुशीला रेग्मी
रामपुर (पाल्पा) । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पाले नयाँ शैक्षिक सत्र देखि नयाँ कार्यक्रम सुरुवात गर्ने तयारी गरेको छ । विद्यालयले विद्यार्थी तथा शिक्षक, कर्मचारीको विद्यालयमै कपाल काट्ने व्यवस्थाका लागि सैलुन सञ्चालन गर्ने भएको छ ।

यहाँ अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारीलाई मध्यनजर गर्दै व्यक्तिगत सरसफाई अन्तर्गत विद्यालयमै सुलभ मुल्यमा सैलुन (कपाल काट्ने) व्यवस्था नयाँ शैक्षिक सत्रबाट सुरु गर्न लागेको प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी दिए । “बजार मुल्यको ५० प्रतिशत छुटमा नयाँ शैक्षिक सत्रमा नयाँ कार्यक्रमको रुपमा सैलुन सञ्चालन गर्दैछौँ, त्यसको लागि विद्यालयको प्रवेशद्वार अगाडी सटर भाडामा लिएर प्रक्रियागत रुपमा विद्यालयले तयारी गरेको छ” प्रअ लम्सालले भने ।

यहाँका कक्षा ५ सम्मका विद्यार्थीका लागि रु ७० र कक्षा ६ देखि माथि पढ्ने विद्यार्थीका लागि रु ९०, दारीमा रु ५० शुल्क लिएर विद्यालय परिचय पत्रको आधारमा सेवा लिन सकिने प्रधानाध्यापक लम्सालले बताए । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई निःशुल्क व्यवस्था हुने विद्यालयले जनाएको छ ।

एकै प्रकृतिको कपाल काटिने हुँदा रामतुलसीको विद्यार्थी, शिक्षक, कर्मचारीको पहिचान नै बेग्लै प्रकृतिको देखिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक श्रेष्ठले बताए । एकै प्रकृतिको कपाल काट्दा समुदायमा यहाँका विद्यार्थी, शिक्षक, कर्मचारीलाई पहिचान गर्न सजिलै सकिनेछ भने अर्कोतर्फ महंगो मुल्यमा बजारमा गएर कपाल काट्न पैसा खर्चन नपर्ने हुँदा यस कार्यक्रमले विद्यार्थी, शिक्षक, कर्मचारी लाभान्वित हुने अध्यक्ष श्रेष्ठ बताउँछन् ।

“रामतुलसी पाल्पा जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको विद्यालय हो, बाहिर बजारमा महंगो मुल्यमा शुल्क तिरेर कपाल काट्नुभन्दा बजार मूल्यको ५० प्रतिशत शुल्कमा विद्यालयमा नै काट्ने व्यवस्था गरिएपछि अभिभावकलाई आर्थिक भार कम पर्नेछ, सबै विद्यार्थी, शिक्षक, कर्मचारीको एकै प्रकृतिको कपाल काट्दा विद्यालयको पहिचान बढ्नेछ” अध्यक्ष श्रेष्ठले भने ।

रामपुर बजारमा कपाल काटेको प्रतिव्यक्ति रु १५० शुल्क तिनुपर्छ । यस विद्यालयमा अध्ययनरत २७ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा नै सहुलियत शुल्कमा सैलुन सञ्चालन भएपछि सजिलो हुनेछ । पाल्पा जिल्लाकै नमुना विद्यालय रहेको हुँदा हरेक शैक्षिक सत्रमा विद्यालयले नयाँ–नयाँ कार्यक्रममा जोड दिएको छ ।

You might also like

Comments are closed.