‘कार्यान्वयनयोग्य बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छ’

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यान्वयनयोग्य र यथार्थपरक बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणबारे श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलका क्रममा उनले वितरणमुखी नभई यथार्थपरक र कार्यान्वयनयोग्य योजना तथा कार्यक्रम तर्जुमा गर्न सुझाए ।

उनले श्रम, सीप, रोजगारी र उत्पादनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै वितरणमुखी बजेटले उचित प्रतिफल नदिने बताए । अर्थमन्त्रीले सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमलाई गम्भीर रुपमा समीक्षा गर्न जरुरी भएको उल्लेख गर्दै विभिन्न मन्त्रालय र निकायका कार्यक्रमलाई एकीकृत गर्नुपर्नेमा जोड दिए ।

छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विप्रेषणलाई अझ बढी व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप सदुपयोग र आन्तरिक रोजगारीका लागि प्राथमिकता दिनुपर्ने बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमको समीक्षा तथा सीप विकासलाई प्राथमिकता दिनुपर्नेलगायत विषयमा छलफल भएको थियो । रासस

You might also like

Comments are closed.