फेवा महोत्सवलाई आमा समूह र संघसंस्थाको साथ

पोखरा । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ लाई पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था र आमा समूहहरुले सघाउने प्रतिवद्धता जनाएका छन् ।

उल्लेखित संस्थाका अध्यक्ष तथा पदाधिकारीसँग संघले सोमबार र मंगलबार दुई अन्तरक्रिया तथा छलफल कार्यक्रम राखी महोत्सव सफल बनाउन सल्लाह र सुझाव मागेको थियो । छलफल कार्यक्रममा संघसंस्था र आमा समूहका पदाधिकारीले फेवा महोत्सव आफ्नै घरगाउँको महोत्सव भएको र यसले नेपाली कला र संस्कृतिको जगेर्नामा सघाउने भन्दै एक भएर सहयोग गर्ने भनाई राखेका थिए ।

संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले फेवा महोत्सवको तयारी द्रुत गतिमा अगाडि बढ्दै गरेको जानकारी गराए । विगतका कमीकमजोरी सच्याउँदै सबैको सल्लाह र सुझाव अनुसार महोत्सव सञ्चालन गरी भव्य रुपमा सम्पन्न गरिने अध्यक्ष सुवेदीले बताए । उनले हरेक वर्ष फेवा नव वर्ष महोत्सव परिस्कृति रुपमा सञ्चालन गर्दै आइएको स्मरण गराउँदै यसपटक पनि महोत्सव भव्य हुने भनाइ राखेका छन् ।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले महोत्सवलाई सफल पार्न बोर्डले लामो समयदेखि सघाउँदै आएको स्मरण गराउँदै यसपटक पनि संस्थाको तर्फबाट सक्दो सहयोग गरिने भनाई राखेका छन् । बोर्डको मुख्य जिम्मेवारी पर्यटन प्रवद्र्धन भएको भन्दै उनले निजी क्षेत्रको सल्लाह र सुझाव अनुसार नै बोर्ड अगाडि बढ्ने बताए ।

होटल संघ नेपालका केन्द्रीय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले फेवा नव वर्ष महोत्सव नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले आयोजना गरिएको स्मरण गराउँदै यसको सफलताका लागि सबैले सकारात्मक सहयोगको खाँचो औंल्याएका छन् । आयोजक संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक दीपक श्रेष्ठले पनि कार्यक्रममा आफ्नो भनाइ राखेका छन् ।

महिला सञ्जाल वडा नम्बर ६ का अध्यक्ष वविता मल्लले महोत्सवको उद्घाटनका अवसरमा आयोजना हुने झाँकी तथा र्यालीमा सहभागी हुने महिलाका सुझाव र गुनासो सुनेर अगाडि बढ्न संघलाई सुझाव दिइन् । संघका द्वितीय उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक गणेशराज पहारीले केही चुनौति मोलेर भए पनि संघ महोत्सवलाई सफल पार्न लागि परेको जानकारी गराएका छन् ।

सोमबारको कार्यक्रममा पोखरा पर्यटन परिषद् अन्तर्गतका विभिन्न संघसंस्थाका अध्यक्षहरुले महोत्सव सफल पार्न आफ्नो तर्फबाट सक्दो सहयोग रहने वचनबद्धता प्रकट गरेका छन् । महोत्सवमा अवसरमा संघ अन्तर्गतका सदस्य होटलमा रात बिताउने पाहुनालाई प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिने घोषणा यसअघि नै गरिसकिएको छ । संघले महोत्सवकै प्रचारका लागि हालै पूर्वी नेपालमा जाउँ है पोखरा अभियान सम्पन्न गरेको थियो ।

स्थानीय ड्यामसाइडदेखि खहरेसम्म सडकमा नै सञ्चालन हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य सहित पर्यटन, संस्कृति र खाना भन्ने नारासहित यो महोत्सव हुन लागेको हो ।

लेकसाइडस्थित अम्मटमा महोत्सवको उद्घाटन कार्यक्रम हुने छ । महोत्सवलाई पोखरा महानगरपालिका, होटल संघ नेपाल, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले सघाउने छन् । छलफल तथा अन्तरक्रिया कार्यक्रमको सञ्चालन संघका महासचिव राजेन्द्र ढकालले गरेका छन् ।

You might also like

Comments are closed.