आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क

दमौली (तनहुँ) ।आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ । गाउँपालिकाको शिक्षा समितिले पालिकाभित्रका कुनै विद्यार्थी बिरामी भए आँबुखैरेनी अस्पतालभित्र हुने सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको अस्पतालमा उपचार निःशुल्क हुने जानकारी दिए । उनले भने, “विद्यार्थीको हितका लागि यो निर्णय गरिएको हो, अन्यत्रको अस्पतालको हकमा भने यो निर्णय लागू हुँदैन ।”

शिक्षा समितिको बैठकले निजी र सामुदायिक विद्यालयले पुनः भर्ना शुल्क वा वार्षिक शुल्क नलिने निर्णय गरेको छ । निजी विद्यालयका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको चुमानले बताए । केही विद्यालयले भर्ना शुल्कमा नाममा पैसा लिएको गुनासो आएपछि आफूहरुले यसमा चासो लिएको चुमानको भनाइ छ ।

स्वास्थ्यचौकीका रुपमा रहेको आँबुखैरेनी स्वास्थ्यचौकीलाई विसं २०७९ मङ्सिर १ गते अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल सञ्चालन गरेको हो । अस्पतालले तनहुँको आँबुखैरेनीका अलावा जिल्लाकै बन्दीपुर, गोरखाको पालुङटार, सहिद लखन र चितवनको इच्छाकामनाका जनतालाई सेवा दिइरहेको छ ।

गाउँपालिकाले शिक्षा सुधार अभियान सञ्चालन गरिरहेको छ । अध्यक्ष चुमानले भने, “हामी गाउँपालिकाका सबै वडामा रहेका सामुदायिक विद्यालय सुधार्न योजनासहित अगाडि बढेका छौँ ।” आँबुखैरेनीका छ वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब ५०० विद्यार्थी अध्ययनरत छन् ।
रासस

You might also like

Comments are closed.