ग्राहक संरक्षणका कार्यक्रम सञ्चालन

पोखरा । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत महिनासम्म ग्राहक संरक्षणका विविध कार्यक्रमहरु सञ्चालन गरेको छ । पोखरा महानगरपालिका– २६, बिजयपुरमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाको सातवटै प्रदेशमा रहेका विभिन्न शाखाबाट कार्यक्रमहरु सञ्चालन गरिएको हो ।

संस्थाको २४ वटा शाखा कार्यालयको कार्यक्षेत्रमा २५ सय भन्दा बढी ग्राहक सदस्य, स्थानीय सर्वसाधारण, युवा तथा विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण गरिएको छ । गुल्मीको रुरुक्षेत्र गाँउपालिकासँग सहकार्य गरेर पालिकाको–१ र ६ मा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

ग्राहकसँग १२ वर्ष सहकार्य गर्ने क्रममा संस्थाले वित्तीय कारोबार मात्र नगरी उनीहरुलाई उद्यमी बनाउन विभिन्न व्यवसायिक तथा सिपमुलक तालिम तथा प्रशिक्षण समेत सञ्चालन गर्दै आइरहेको छ । चालु आर्थिक वर्षमा २० वटा शाखा कार्यालयमा आवद्ध ११ सय ५५ जना सदस्यलाई कृषि, पशुपालन लगायत विभिन्न सिपमुलक तालिमहरु प्रदान गरिएको वित्तीय संस्थाले जनाएको छ ।

वित्तीय संस्थाको कार्यक्रमलाई प्रत्यक्ष एवं परोक्ष रुपमा प्रभाव पार्ने घटना तथा बजारमा देखिएको आर्थिक मन्दीका बाबजुद पनि संस्थाले वित्तीय कारोबारलाई निरन्तरता दिंदै विविध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । वित्तीय संस्थाको ५४ जिल्लामा १२१ वटा शाखा र १ लाख ५३ हजार भन्दा बढी सदस्यहरु रहेका छन् ।

 

You might also like

Comments are closed.