तरकारी खेतीबाट सोँचेभन्दा बढी लाभ मिलेपछि सन्तुष्ट छन्, रामपुरका दिलबहादुर र लालबहादुर

सुशीला रेग्मी
रामपुर (पाल्पा) । पत्थरीलो उजाड जमिन हराभरा भएर कमाई गर्ने माध्यम होला भन्ने कसैलाई पत्यार लागेको थिएन । ईट्टा पोलेर प्रयोगविहिन जस्तै बनेको जग्गामा खेती गरेर आम्दानी हुन्छ भन्ने कल्पना पनि गर्न सकिदैनथ्यो । हातमा सीप, आफूमा जाँगर, ईच्छा शक्ति भयो भने ईट्टा पोलेर फालिएको पत्थरीलो जग्गामा पनि हराभरा बनाउन सकिन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन्, रामपुरका दिलबहादुर थापा र लालबहादुर थापा ।

पाल्पा रामपुर नगरपालिका ४ देविस्थान बस्ने थापा दाजुभाईको निरन्तरको मेहनत र पसिनाले पत्थरीलो जमिनलाई मलजल, सिंचाई व्यवस्थापन गर्दै जादा अहिले कमाउने आधार बनेको छ । थापा दाजुभाई नै करिव एक दशक वैदेशिक रोजगारबाट फर्केर तरकारी खेतीमा लाग्नुभएको छ । करिव दश रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । अहिलेको यहाँ रहेको हराभरा तरकारी खेतीले सबैको मन लोभ्याएको छ ।

थापा दाजुभाईले हाम्रो आधुनिक कृषिफार्मको नाममा फार्म दर्ता गरेर बिगत ६ वर्षदेखि बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । हाल यहाँ काक्रा, करेला, गोलभेँडा, धारे घिरौला, फर्सीको सागबाली रहेका छन् । काक्रा उत्पादनको समय भएकाले बिक्रि गर्न भ्याईनभ्याई नै रहेको दिलबहादुरले बताए । दैनिकजसो डेढ देखि दुई क्वीण्टलसम्म काक्रा बिक्रिका लागि फार्मबाट निकाल्ने गरेको उनी बताउँछन् ।

“फार्ममा यतिबेला काक्राको उत्पादन राम्रो छ, काक्रा टिप्ने, बजार लैजानमा दौडधुप बढेको छ, बेमौसमीयामको उत्पादन भएकाले बजारमा काक्राको माग धेरै आएको छ, फार्ममा पनि ग्राहक तथा व्यापारी खरिद गर्न आउनुहुन्छ, काक्राले राम्रो बजार पाएको छ, दैनिक काक्रा बिक्रि गरेर आम्दानी लिइरहेका छौँ” उनले भने ।

हाल यहाँ काक्राको उत्पादन ठूलो मात्रामा भएको छ भने यसबाहेक गोलभेँडा, धारे घिरौला, करेला, फर्सीको साग उत्पादन पनि सुरु भएको छ । काक्रा होलसेल रु ५०, फुटकर रु ६०, करेला होलसेल रु १२० र फुटकर रु १५०, गोलभेँडा होलसेल रु ४० र फुटकर रु ५०, धारे घिरौला होलसेल रु १२० र फुटकर रु १५० मूल्यमा धमाधम बिक्रि भइरहेको छ ।

चैतदेखि उत्पादन सुरु भएको काक्रा हालसम्म १७ क्वीण्टल बिक्रि भइसकेको छ भने अझै एक महिनासम्म उत्पादन दिइरहने दिलबहादुरले बताए । वार्षिक रु २० लाख बराबरको तरकारी खेतीबाट कारोबार भइरहेको उनी बताउँछन् । उनकाअनुसार अबको वर्ष रु १५ लाख नाफा गर्ने लक्ष्य रहेको छ । जेठमा उत्पादन दिने गरी काक्राको नयाँ विरुवा लगाउने तयारी गरिरहेका छन् ।

“खेती गर्ने समय र प्रविधि जानियो भने बिक्रिको समस्या हुदैन, हामीले किसानका घरमा तरकारी उत्पादन नहुने समय मिलाएर उत्पादनमा जोड दिएको हुँदा राम्रो बजार पाएको छ, बजारका लागि अन्यत्र धाउनु परेको छैन” दिलबहादुर भने,–“गाउँकै बजारमा अहिलेसम्म लागतअनुसारको मूल्य पाइएको छ, यसमा हामी सन्तुष्ट छौँ” ।

थोपा सिंचाई, मल्टिङ प्लाष्ट्रिक, व्यवस्थित फलामे डण्डीको व्यवस्था गरेर दीर्घकालिन रुपमा व्यवसाय गर्ने गरी खेती गरिएको छ । सिंचाईका लागि इनारबाट पानी निकालेर आपूर्ति भइरहेको छ । बजार नजिकै र फार्मसंग सडक सुबिधा भएको हुँदा व्यापार गर्न सजिलो भएको छ । बाह«ै महिना विभिन्न जातका तरकारी पाइने भएको हुँदा व्यापारी तथा ग्राहकको हरेक समय फार्ममा चहलपहल नै रहन्छ ।

यहाँ लगाइएको गोलभेँडा हालैमात्रै ८० क्वीण्टल उत्पादन भएको छ । बिक्रिका लागि फार्ममा अझैपनि गोलभेँडा प्रशस्त छन् । रामपुर बजारका अलवा पाल्पाको सदरमुकाम नजिकै रहेको आर्यभन्ज्याङ बजारमा समेत काक्रा खपत भइरहेको छ । बाहिरी बजारबाट माग धेरै आएपनि स्थानीय बजारमा नै खपत हुने गरेकाले पठाउन नसकिएको लालबहादुरले जानकारी दिए ।

बाहिरका विभिन्न बजारबाट माग आइरहेको हुन्छ, हाम्रो लक्ष्य भनेको स्थानीय बजारमै खपत गराउने हो, व्यापारी तथा ग्राहकले फार्मबाटै तरकारी खरिद गर्नुहुन्छ, हामीले स्थानीयलाई रित्तो हात पठाएका छैनौ, अहिलेको उत्पादन स्थानीय बजारमै ठिक्क छ” लालबहादुरले भने ।
चितवन, बुटवल लगायतका बजारमा भन्दा यहाँको बजारमा तरकारीले राम्रो बजार मूल्य पाएको लालबहादुरले सुनाए ।

किसानले उत्पादनमा जोड दिने हो भने बाहिरी बजारको तुलनामा स्थानीय बजारमा बिक्रि गर्दा मूल्य धेरै पाइने उनको अनुभव छ । सिंचाईका लागि विद्युत् प्रयोग गर्नुपर्ने भएकाले विद्युत् बन्द भएका समय सिंचाईमा समस्या परेको उनले जनाए । रासस

 

 

 

 

You might also like

Comments are closed.