होटल ईच्छाले सर्वसाधारणमा आईपिओ निष्काशन गर्ने, बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल

काठमाडौं । बाराको सिमरामा रहेको मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको छ । निष्काशन गर्ने कार्यका लागि हिमालयन क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धक नियुक्ति गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतापत्रमा होटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेवन्तप्रसाद धौभडेल र हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् । कार्यक्रममा निष्काशन कम्पनीका तर्फबाट सञ्चालक मुनसन वाग्ले, संस्थापक शेयरधनी लालकाजी खड्का, गोकर्ण खतिवडा, सञ्जोग बिक्रम कुवँर र बिक्री प्रवन्धक कम्पनीका प्रमुख सञ्चालन अधिकृत रामप्रसाद भट्टराईको लगायत सहभागी थिए ।

अधिकृत पूँजी रु. २०० करोड रहेको र जारी पूँजी रु. १५० करोड रहेको यस होटलले जारी पूँजीको २० प्रतिशत अर्थात ३० करोड रकम बराबरको ३० लाख कित्ता शेयरको सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको हो । नेपाल ल्याण्ड एण्ड हाउजिङ्ग एसोसियसनका पूर्व अध्यक्ष एवं समाजसेवी ईच्छाबहादुर वाग्लेले आफ्नै नाममा २०७४ सालमा भारतका प्रसिद्ध योगगुरु बाबा रामदेवबाट उद्घाटन गराई चारतारे होटलको रुपमा सञ्चालनमा ल्याएका हुन् ।

२०७९ मा मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटलको मान्यता प्राप्त गर्न सफल भएको छ । यसै आर्थिक वर्षको साउन १ गतेदेखि पब्लिक कम्पनीको रुपमा समेत सञ्चालनमा आएको छ । शुरुमा व्यक्तिगत रुपमा स्वःलगानीमा सञ्चालनमा आएको होटलले चालु आर्थिक वर्षमा सर्वसाधारण तथा उच्च व्यवसायीक घरानाका व्यक्ति तथा कम्पनीहरु समेतलाई प्रवद्र्धकको रुपमा भित्र्याई हाल संस्थापक समूहको चुक्ता पूँजी रु. १२० करोड पुगेको छ ।

पाँच विगाहा भन्दा बढी क्षेत्रफल रहेको जग्गामा निर्मित यस होटलमा सुविधा सम्पन्न १०० वटा कोठाहरु रहेका छन् भने स्वीमिङ्ग पुल, क्यासिनो, स्पा, ब्याङक्वेट, क्लब हाउस लगायको सुविधा छ । चालु आर्थिक वर्षमा नै साधारण सभाबाट प्रस्ताव पारित गरी नेपाल धितोपत्र बोर्डमा सार्वजनिक निष्काशनको स्वीकृतिका लागि आवेदन दिने र आगामी आर्थिक वर्ष भित्रमा सर्वसाधारणमा शेयर निष्काशन गर्ने योजना रहेको कम्पनीका प्रमुख प्रवद्र्धक वाग्लेले जानकारी दिए ।

हाल सञ्चालनमा रहेको मिनी क्यासिनोलाई पाँचतारे होटल स्तरको क्यासिनो सञ्चालन गर्नका लागि छुट्टै भवनमा स्थानान्तरण गर्ने गरी भवन निर्माणको कार्य भइरहेको छ । होटललाई अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान गराउन भारतको प्रसिद्ध होटल व्यवस्थापन समूहलाई होटल सञ्चालनको जिम्मा दिने सम्बन्धमा छलफल करिब अन्तिम चरणमा पुगेको छ । केही दिनमा नै सम्झौता भइसक्नेछ । होटलको रिनोभेसन तथा कोठाहरुको स्तरीकरण गर्ने कार्य शुरु गरिएको छ । छिट्टै नै अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न होटलमा परिणत हुने बताइएको छ ।

 

 

You might also like

Comments are closed.