तनहुँ । तनहुँमा पर्यटकीय गाउँ भुजिकोट क्षेत्रको प्रचार गर्न नयाँ बर्ष २०८२ को पहिलो दिन दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्ण युवा क्लब कोत्रेको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
क्लबका पुर्व अध्यक्ष एवं कार्यक्रमका संयोजक खेम गुरुङले भूजिकोटसँगै समग्र वडामा पर्यटकीय गतिविधि सञ्चालन गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले १८ देखि ४५ बर्ष उमेर समुहमा महिला र पुरुष सहभागि हुने गरि खुला दौड प्रतियोगिता हुने जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिका वडा न २ को पर्यटकीय क्षेत्र भुजिकोट, स्थानथोक सहित यहाँ रहेका पुराना सास्कृतिक बस्ती, आदिबासी समुदायको संस्कृति, घरबास कार्यक्रम, ऐतिहासिक स्थलको अवलोकन र दृश्यावलोकन मार्फत यस क्षेत्रको प्रचार गर्न प्रतियोगिता सफल हुने संयोजक गुरुङको विश्वास रहेको छ ।
क्लबका अध्यक्ष अनिल खनालको अध्यक्षतामा भएको कार्यक्रममा दौड सहित गुलेली हान्ने, कुखुराको भाले समाउने र सांस्कृतिक प्रस्तुती प्रदर्शन गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । अध्यक्ष खनालले देशभरका २०० जना धावक सहभागि गराउने उद्धेश्य रहेको दावि गर्दै उत्कृष्ट २० जनासम्मलाई मेडलमार्फत सम्मान गर्ने बताएका छन् ।
कार्यक्रमका प्रवक्ता तिर्थराज खनालले प्रतियोगितामा सहभागि भई विजेता हुने प्रथम सहित पाँचौ सम्मका धावकलाई क्रमश, ३३ हजार ३३३, २२ हजार २२२, ११ हजार १११, पाँच हजार ५५५ र ३ हजार ३३३ नगद सहित सम्मान गरिने जानकारी दिए । कोत्रे चोकदेखि स्थानथोकसम्मको ९ किलोमिटरको दुुरीमा प्रतियोगिता हुने जनाउदै प्रवक्ता खनालले धावकको नाम दर्ताका लागि रु २५० शुल्क लाग्ने र प्रतियोगिता सम्पन्न गर्न ३ लाख लागत अनुमान गरिएको जनाए ।
क्लवले यस अघि २०७५ मा पनि भुजिकोट उकालो दौड प्रतियोगिता सञ्चालन गरेको थियो । कोरोना महामारी लगायतका विभिन्न कारणले रोकिएको प्रतियोगिता अव बर्षेनी आयोजना गर्ने क्लवले जनाएको छ । शुक्लागण्डकी नगरपालिका २ भूजिकोट–स्थानथोकबाट पोखराका तालतलैयादेखि हिमालयका शुन्दर दृश्य, विभिन्न जिल्लाका दृश्यवलोकन, राष्ट्रिय फुल लालिगुरासको अवलोकनका साथै ग्रामिण परिवेश नियाल्न सकिन्छ ।
Comments are closed.