सुशीला रेग्मी
रामपुर (पाल्पा) । यसवर्ष रामपुर शीतभण्डारमा २१० मेट्रिक टन आलु भण्डारण गरिएको छ । रामपुर नगरपालिकाको व्यवस्थापनमा कृषकले उत्पादन गरेको वीउँ तथा खायन आलु सुरक्षित साथ भण्डारण गरेर राखिएको छ ।
नगरपालिकाले सूचना जारी गरी गत चैत १८ देखि आलु भण्डारणका शीतभण्डार खुल्ला गरेको थियो । आलु भण्डारण कक्षहरु भरिएपछि २१ गते नै बन्द गरिएको छ । यसअघि पहिलो वर्ष बोलपत्रमार्फत व्यवसायीलाई, दोस्रो र तेस्रो वर्ष सूर्योदय कृषि सहकारीसँग सम्झौता गरेर शीतभण्डार सञ्चालन गरिएको थियो भने अहिले नगरपालिका आफँैले व्यवस्थापन गरेर शीतभण्डार सञ्चालन गरेको छ ।
यहाँको शीतभण्डारमा छ सय ८२ कृषक तथा कृषि सहकारी र समूहको गरेर २१० मेट्रिकटन आलु भण्डारण गरिएको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । गतवर्ष १७० मेट्रिकटन आलु भण्डारण गरिएको थियो । यहाँ रामपुर नगरपालिकासहित स्याङ्जाको चापाकोट नगरपालिकाका केही किसानबाट ल्याइएका आलु भण्डारण गरेर राखिएको छ ।
शीतभण्डारको सुबिधा भएपछि किसानले उत्पादनमा जोड दिएको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । यो क्षेत्रमा आलु उत्पादन बढी हुने हुँदा नगरपालिकाले शीतभण्डार निर्माण गरी प्रयोगमा ल्याएपछि किसान लाभान्वित भएको नगर प्रमुख थापाले बताए । आफ्नै शीतभण्डारमा सुरक्षित साथ आलु राख्न पाउँदा किसान खुशी छन् । यसवर्ष रामपुर क्षेत्रमा प्रति रोपनी सात देखि आठ क्वीन्टलसम्म आलु उत्पादन भएको छ । किसानबाट प्रतिकिलो रु ६ भण्डारण शुल्क लिएर आलु राखिएको छ ।
लुम्बिनी प्रदेश सरकारमार्फत चार वर्ष अघि रु ३ करोड २६ लाख ७६ हजार ५६६ मा तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरेर २०७८ देखि सञ्चालनमा ल्याइएको हो । पहिलो वर्ष परीक्षणको क्रममा प्राविधिक समस्याका कारण केही आलुमा उम्रिने समस्या थियो । पुनः मर्मत तथा सम्भार पश्चात् दोस्रो र तेस्रो वर्ष भण्डारण गरिएको आलु राम्रो भएपछि कृषकले अन्यत्र आलु भण्डारणका लागि लैजान छाडेका छन् ।
नगरपालिकाले शीतभण्डारको रेखदेख, तापक्रम मापन तथा उपकरणको निरिक्षणका लागि एक जना दैनिक हेरालु व्यवस्थापन गरेको छ । यो पाल्पा जिल्लाकै सबैभन्दा ठुलो क्षमताको शीतभण्डार रहेको छ । फरक–फरक क्षमताका पाँच कोठा रहेका छन् । पाँचवटै कोठा अहिले आलुले भरिएको छ । सञ्चालनका लागि मासिक रु ५० देखि ६० हजारसम्म विद्युत महसुल लाग्ने गरेको छ ।
शीतभण्डार सञ्चालन हुनुअघि याहाँका कृषकले भैरहवा, गल्याङ, पोखरा लगातका स्थानमा आलु भण्डारण गर्दै आएका थिए । नगरपालिकाले हरेक वर्ष मर्मत तथा उपकरण जडानका लागि आवश्यक बजेटको व्यवस्था गर्दै आएको छ । यहाँ शीतभण्डार सुबिधाले किसानलाई राहत मिलेको छ । रासस
Comments are closed.