भोजपुरको पर्यटकीयस्थल नागछाँगा ओझेलमा

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको सरक्षणसँगै प्रचारप्रसारमा स्थानीय सरकार जुटेको छ । गाउँपालिकाले यो स्थलको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेर संरक्षणको थालेको हो ।

ढुङ्गाभरी जेलिएका नागको चित्र देख्दा यहाँ आउने मानिस अचम्मित हुने गरेका छन् । यो ठाउँमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयवासी राजन घिमिरेले बताए । अनौठो प्राकृतिकस्वरुप रहेको धार्मिकस्थल भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ । वडा नं ६ बैकुण्ठे र वडा नं २ धोद्लेखानीको सिमनामा पर्ने यो धार्मिकस्थल प्रर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेसँगै यसको प्रवद्र्धनका लागि प्रचारप्रसारमा जोड दिएको वडाध्यक्ष एकराज आचर्यले बताए ।

नागछाँगा, गङ्गाखोला, गोल्मे राजागोल्मे रानीभीर, थामडाँडालगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचारप्रसारमा वडा कार्यालयले काम गरिरहेको उनको भनाइ छ । नागछाँगाको किम्बतन्दीको खोज तथा अनुसन्धान गरिरहेको उनले बताएका छन् । “नागछाँगा एक ऐतिहासिकस्थल हो” वडाध्यक्ष आचर्यले भने, “परापूर्वकालमा सक्कली नाग बस्ने गरेको किम्बदन्ती पनि छ । यसको किम्बदन्तीको खोजीमा लागेको छौँ । यो स्थानको संरक्षणसँगै प्रचारप्रसारमा जोड दिएका छौँ ।”

पर्यटकलाई लक्षित गरेर नागछाँगासम्म पुग्ने पदमार्ग निर्माणसँगै शौचालय, विश्राम निर्माणलगायतको काम गरिएको गाउँपालिकाले अध्यक्ष थामबहादुर राईले जानकारी दिए । यो क्षेत्रको विकासका लागि विभिन्न आर्थिक वर्षमा करिब रु ६० लाख लगानी भइसकेको उनको भनाइ छ ।

“स्थानीय सरकारको तर्फबाट यो क्षेत्रको विकासका तथा संरक्षणको काम गरिहेका छौँ” अध्यक्ष राई भन्छन्,“प्रसिद्ध धार्मिक क्षेत्र भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको छ । हामी अहिले सरक्षणसँगै यसको महत्व उजागरका लागि जुटेका छौँ ।”

गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ । स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकोले नागछाँगालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष राई बताउँछन् । रासस

You might also like

Comments are closed.