काठमाडौं । चीन सरकारले आफ्ना सम्पूर्ण एयरलायन्स कम्पनीहरूलाई अमेरिकी जहाज उत्पादक कम्पनी बोइङबाट थप जहाज डेलिभरी नलिन आदेश दिएको छ । ब्लुम्बर्ग न्यूजका अनुसार अमेरिकाले चिनियाँ सामग्रीमा २४५ प्रतिशतसम्म ट्यारिफ लगाउने निर्णय गरेसँगै चीन सरकारले उक्त आदेश जारी गरेको हो ।
चीनका टप थ्री एयरलायन्स एयर चाइना, चाइना इस्टर्न एयरलायन्स र चाइना साउदर्न एयरलायन्सले सन् २०२५ देखि २०२७ सम्ममा क्रमशः ४५, ५३ र ८१ वटा बोइङका जहाज डेलिभरी लिने तालिका रहेको छ ।
बेइजिङले चिनियाँ क्यारियरहरूलाई एयरक्राफ्ट सम्बन्धित इक्युपमेन्ट र पार्टस समेत अमेरिकी कम्पनीहरूबाट खरिद नगर्न आदेश जारी गरेको छ । सन् २०१८ र २०१९ मा बोइङको ७३७ म्याक्सको घातक दुर्घटनापछि उक्त मोडलको विमानहरू ग्राउण्डेड गर्ने चीन पहिलो देश थियो ।
उक्त समयमा चीनमा उडिरहेका करिब ३५० वटा बोइङ ७३७ म्याक्सको उडान सस्पेन्ड भएका थिए । चीनको यो निर्णयपछि अमेरिकी कम्पनी बोइङको शेयर मूल्य करिब ३ प्रतिशतले घटेको छ भने बोइङ राइभल युरोपियन कम्पनी एयरबसको शेयर मूल्य १ प्रतिशतले बढेको छ ।
Comments are closed.