दक्ष जनशक्ति उत्पादनमा नेपाल इन्जिनियरिङ कलेजको महत्वपूर्ण योगदान

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेजले देशको लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिएको भन्दै पूर्वविद्यार्थीले प्रशंसा गरेका छन् । कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीको आकर्षण बढाउन र कलेजको वृहत्तर हितमा काम गर्न कलेजका पूर्वविद्यार्थीहरु एकजुट पनि भएका हुन् ।

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित कलेजले स्वदेशमै अन्तराष्ट्रिय स्तरको इन्जिनियरिङ शिक्षा दिएर आफुहरूलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै पूर्वविद्यार्थीले कलेजका शिक्षकलाई पनि सम्झिए । शनिबार कलेजमा आयोजित ‘नेक अल्मुनाई मिट’ मा सहभागी हुँदै पूर्वविद्यार्थीले आफ्नो कलेज जीवनलाई पनि सम्झिए । हाल सरकारी, गैरसरकारी देखि आफ्नै कम्पनी र फर्महरु सञ्चालन गरेर व्यवसायिक क्षेत्रमा स्थापित भएका उनीहरुले तत्कालिन अवस्थामा निजी क्षेत्रबाट मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा नेपाल इन्जिनियरिङ कलेजको स्थापना नभएको भए आफुहरु इन्जिनियर नै बन्न नसक्ने अवस्थाको चर्चा गरे ।

कलेजका प्रथम अल्मुनाईका महासचिव इन्जिनियर दिपक बाबु कंडेलले तत्कालिन समयमा पुल्चोक पछि अन्य इन्जिनियरिङ कलेज नहुँदा धेरै विद्यार्थीहरुको इन्जिनियर बन्ने सपना पुरा नभइरहेको अवस्थामा स्वर्गीय प्रा.डा. दीपक भट्टराई लगायतको अगुवाईमा नेपाल इन्जिनियरिङ कलेजको स्थापना भएको बताए । नेपालको विकासमा चाहिने दक्ष प्राविधिक जनशक्ति उत्पादनमा नेपाल इन्जिनियरिङ कलेजले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै कँडेलले कलेजले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिएको कारणले नै कलेजमा विद्यार्थीको आकर्षण रहेको बताएका छन् ।

कार्यक्रममा दोश्रो अल्मुनाई समितिका महासचिव इ. विनोद देवकोटाले निजी क्षेत्रले गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण नेपालले उच्च शिक्षामा फड्को मारेको चर्चा गर्दै इन्जिनियरिङ शिक्षाको विकास, दक्ष जनशक्ति उत्पादनमा कलेजले ठूलो योगदान दिएको बताए । अर्का अल्मुनाई इ. पदमकुमार मैनालीले १९९६ ताका नेपाल इन्जिनियरिङ कलेज नभएको भए आफ्नो व्याचका धेरैले पढ्न नपाउने अवस्था रहेको भन्दै बिगत सम्झिए ।

हाल शहरी विकास मन्त्रालयका सहसचिव समेत रहेका मैनालीले कलेजको शैक्षिक, भौतिक सुधार गर्न र कलेज प्रति विद्यार्थीको आकर्षण बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा गठित कलेज सञ्चालक समितिका अध्यक्ष समेत रहेका चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नेपाल इन्जिनियरिङ कलेजको शैक्षिक, प्रशासनिक र भौतिक सुधारका लागि आफु लागि रहेको भन्दै नेक अल्मुनाईलाई पनि आवश्यक सल्लाह, सुझाव र सहकार्यको आब्हान गरे ।

कलेजको स्थायित्व र शैक्षिक विकासका लागि शिक्षक, कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरुको योगदान हुनुपर्ने भन्दै उनले नेपाल इन्जिनियरिङ कलेजलाई सामाजिक शैक्षिक संस्थाकै रुपमा सञ्चालन गर्न आफुहरु प्रतिबद्ध रहेको बताए । नेक अल्मुनाई मिट कार्यक्रममा कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले कानुनी तथा प्रशासनिक उल्झनहरुको सामना गर्नु परेपनि कलेजको शैक्षिक गुणस्तर खस्कन नदिएको बताए । ‘नेक अल्मुनाई मिट’ मा कलेजका स्थापना देखि सन् २०१९ सम्मका करिब ५ सय विद्यार्थीको उपस्थिति रहेको थियो ।

सन् १९९४ मा मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा नेपाल इन्जिनियरिङ कलेजको स्थापना भएको थियो । इन्जिनियरिङ विधाका स्नातक तथा स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन हुने यस कलेजबाट हालसम्म दश हजार भन्दा बढी दक्ष जनशक्ति उत्पादन भइसकेको कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले बताए । पछिल्लो समय कक्षा १२ पास गर्ने वित्तिकै नेपाली विद्यार्थीहरु विदेशिएको अवस्थामा उनीहरुलाई स्वदेशमै उच्च शिक्षा हासिल गर्नका लागि प्रेरित गर्न तथा नेपालको इन्जिनियरिङ शिक्षा अन्तराष्ट्रिय स्तरको रहेको छ भनेर बुझाउन नेक अल्मुनाई मिट गरिएको बताए ।

नेक अल्मुनाई मिटका संयोजक आर्किटेक्चर पोषण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अल्मुनाईहरू काठमाडौं महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष डाक्टर इन्जिनियर सुमन नरसिंह राजभण्डारी, सदस्य इ. बाबुराम भट्टराई, कलेजका संस्थापक सदस्य इ. सलिल भट्टराई लगायतको सहभागीता रहेको थियो ।

You might also like

Comments are closed.