चितवन । गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा १ हजार ७० टनले मह उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष ४ हजार ९४५ टन मह उत्पादन भएकामा गत वर्ष सो उत्पादन घटेर ३ हजार ८७५ टनमा झरेको छ ।
नेपाल मौरीपालक महासङ्घका अध्यक्ष सुवाषचन्द्र घिमिरेका अनुसार अघिल्लो वर्षको मह बिक्री नहुनु, चरन क्षेत्रको विवाद, विषादीको अनियन्त्रित प्रयोग, मौरीजन्य उपकरणको मूल्यवृद्धि, महँगो ढुवानी, नक्कली मह र मिसावटयुक्त महको बिगबिगीलगायत कारण यस वर्ष मह उत्पादनमा कमी आएको हो ।
उनी भन्छन्,“लगानीको अभाव, बजारको सुनिश्चितता नहुनुले यस पेसाबाट किसान पलायन हुने खतरा बढेको छ ।” अघिल्लो वर्षका तुलनामा मौरीपालक किसानको सङ्ख्या बढे पनि मह उत्पादनमा भने कमी आएको हो । अघिल्लो वर्ष ८ हजार १०० किसानले मौरीपालन गरेकामा गत वर्ष यो सङ्ख्या बढेर ८ हजार ३९८ किसानले मौरीपालन गरेका छन् । तीमध्ये व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्यामा कमी आएको छ ।
व्यावसायिक मौरीपालन गर्ने किसान अघिल्लो वर्ष १ हजार ९६५ रहेकामा गत वर्ष घटेर १ हजार ५६८ जनामा झरेको उनले बताए । उनीहरूले मेलीफेरा मौरी पाल्दै आएका छन् । घरपालुवा सेरेना मौरी पाल्ने किसानको सङ्ख्या भने बढेको छ । अघिल्लो वर्ष यस जातको मौरी पाल्ने किसान सङ्ख्या ६ हजार १३५ रहेकामा गत वर्ष यो सङ्ख्या बढेर ६ हजार ८३० पुगेको उनी बताउँछन् ।
उनीहरूले २०८१ सालमा ९१ हजार ४३५ मेलिफेरा र १ लाख ८० हजार ५७८ गोला सेरेना मौरी पालेका थिए । विसं २०८० मा ३ हजार १४३ टन मह मौज्दात रहेकामा २०८१ मा १९७ टन मह मौज्दात रहेको महासङ्घले जनाएको छ । रासस
Comments are closed.