रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गर्न तयारीलाई तिव्रता दिएको छ । नगरपालिकाले आगामी २०८३ साल मङ्सिर ५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
बालमैत्री स्थानीय शासनका ५१ वटा सुचक पूरा गरी नगरपालिकामा बालमैत्री स्थानीय शासन लागू गर्नका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । नगरका १० वटै वडामा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरेको छ भने वडा नं.२ लाई घोषणाको अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । वडा नं.२ लाई बालमैत्री स्थानीय शासन घोषणाका लागि गत आर्थिक वर्षबाट वडामा विभिन्न कार्यक्रमहरु भइरहेको छ ।
वडा नं.२ मा बालमैत्री स्थानीय शासन लागु गर्नका लागि आवश्यक सुचक पूरा गर्न विभिन्न कार्यक्रम सम्पन्न गरी वडालाई बालमैत्री स्थानीय शासन घोषणाको अन्तिम चरणमा रहेको छ भने अन्य वडामा पनि सुरु गरिएको छ । बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम अन्तर्गत आइतबार गणकलाई बालमैत्री घरधुरी सर्वेक्षण सम्बन्धी अभिमुखिकरण प्रदान गरेको छ । बालबालिकाको अवस्था पहिचानका लागि नगरपालिका भित्रका वडामा खटिने गणकलाई अभिमुखिकरण प्रदान गरेको हो ।
कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बालकुमारी थापाले बालमैत्री घोषणाको पहिलो र महत्वपूर्ण आधार बालबालिकाको अवस्था बुझ्ने घरधुरी सर्वेक्षण भएको भन्दै सही तथ्याङ्क सङ्कलन गर्न आग्रह गरिन् । नगरपालिकालाई समृद्ध र प्रभावकारी कार्यान्वयन सहितको बालमैत्री स्थानीय शासन सहितको नगरपालिका बनाउन सबै लाग्नुपर्ने बताउँदै उनले समुचित विकास र समृद्धिका लागि बालमैत्री स्थानीय शासनका सुचक पूरा गरेर बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक रहेको उल्लेख गरेकीछिन् ।
नगर प्रवक्ता एवं वडा नं.१ का वडाध्यक्ष कपिलबहादुर खाँणले नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि बालबालिकाको वास्तविक अवस्था पहिचान गर्न आवश्यक रहेको बताए । उनले सही तथ्याङ्कले मात्र सही नतिजा दिने भन्दै हरेक गाउँ टोलमा रहेका बालबालिकाको वास्तविक अवस्थाको तथ्याङ्क सङ्कलन गर्न गणकलाई आग्रह गरे । कार्यक्रममा बालबालिकाको अवस्था, पारिवारिक अवस्था, शैक्षिक अवस्था लगायतका तथ्याङ्क सङ्कलनको विषयमा रामपुर नगरपालिका बालमैत्री स्थानीय शासनका फोकल पर्सन सञ्जु परियारले सहजिकरण गरेकी हुन् ।
कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखा प्रमुख पुजा परियारले गरेकी हुन् । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा वडा नं.२ बाहेक अन्य वडाका ४० जना गणकहरुको सहभागिता रहेको थियो ।
Comments are closed.