उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ नगरपालिका

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रापालक किसानले आधुनिक खोर निर्माणमा चासो देखाएका छन् । नगरपालिकाले उत्पादन बढाउने योजना सहित आधुनिक खोर निर्माण र खोर सुधारका कार्यक्रम सञ्चालन गरसँगै किसान उत्साहित भएका हुन् ।

अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका कृषकहरु आधुनिक खोर निर्माणसँगै उत्पादन बढ्नेमा विश्वस्त छन् । पालिकाले बाख्राको नश्ल सुधार गर्दै व्यवस्थित तरिकाबाट पालन गर्न किसानलाई पे्ररित गर्दै आएको छ । अनुदानमा आधुनिक खोर निर्माण गरेकी वालिङ नगरपालिका–५ की एकमाया मल्लले आधुनिक खोर निर्माणका कारण गाउँमा छुट्टै खुसियाली छाएको बताइन् ।

उनी भन्छिन्, “अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका थियौं, अब सजिलो हुने भयो ।” अहिले १२ बाख्रा पाल्दै आएकी मल्लले अब खोर निर्माणसँगै बाख्राको सङ्ख्या थप्ने सोँच बनाएको बताउँछिन् । गाउँका धेरै बाख्रापालक किसानले खोर बनाउने योजना बनाएको उनको भनाइ छ । मल्ल स्थानीय दिप्का बाख्रापालन स्वावलम्वी महिला कृषक समूहकी अध्यक्ष हुन् । ३० जना महिला आवद्ध रहेको समूहका सदस्यहरु उत्पादन बढाउने अभियानमा लागेको समूहकी सचिव मथुरा शाहीले बताइन् ।

वालिङ नगरपालिका–५ मा १० जना कृषकले आधुनिक खोर निर्माण गरेका वडाध्यक्ष छविलाल आलेले बताए । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भइरहेको ‘वालिङ कृषि विकास परियोजना’मार्फत आधुनिक खोर निर्माण गरिएको उनको भनाइ छ । किसानले ५० प्रतिशत अनुदानमा बाख्राको खोर निर्माण गरेका हुन् ।

बाख्राको नश्ल सुधार गर्दै उत्पादन बढाउने योजनाका साथ नगरपालिकाले वडा नं.१ देखि ७ सम्म विशेष योजना बनाएर काम गरिरहेको नगरप्रमुख कृष्ण खाँणले बताए । उनी भन्छन्, “साझेदार संस्थाहरुसँग मिलेर महिलालाई उत्पादनमा जोड्ने अभियान सुरु गरेका छौं ।” वडाको पकेट क्षेत्र नै छुट्याएर कृषि र पशुको क्षेत्रमा काम गरिरहेको उनले जनाए ।

बाख्रापालनलाई ब्यवसायिक बनाउँदै उत्पादन बढाउने उद्देश्यले आधुनिक खोर निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । निर्वाहमूखी कृषि प्रणालीमा परिवर्तन गरी साना कृषकलाई आर्थिक रुपमा सवल बनाउने पालिकाको योजना रहेको छ ।

नगरपालिकाले सञ्चालन गरिरहेको परियोजनामार्फत वडा नं.४, ५ र ६ मा गरी २६ वटा आधुनिक बाख्राको खोर निर्माण गरिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताए । आधुनिक खोर निर्माणसँगै कृषकलाई बाख्रापालनका तरिका र सरसफाई सम्बन्धी जानकारी दिदै आएको उनी बताउँछन् ।

You might also like

Comments are closed.