वीरगञ्ज (पर्सा) । बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाँले चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा रु ७ करोड ३६ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले सङ्कलन गर्ने राजस्व पछिल्लो समय उत्साहजनक ढङ्गले वृद्धि भइरहेको र यस अवधिसम्म रु ७ करोड ३६ लाख ५७ हजार ६७५ राजस्व सङ्कलन भएको जानकारी दिए ।
“कार्यालयले साउनदेखि माघको पहिलो सातासम्म रु ४ करोड ३० लाख राजस्व सङ्कलन गरेको थियो । त्यसयता वैशाखको पहिलो सातासम्म रु ३ करोड ६ लाख ५५ हजार राजस्व सङ्कलन भएको छ । पछिल्ला महिनामा राजस्व सङ्कलनको दर क्रमशः वृद्धि हुँदै गइरहेको छ”, उनले भने ।
कार्यालयका अनुसार ३ महिनायता प्रतिमहिना औसतमा रु १ करोड २ लाख रकम राजस्व सङ्कलन हुँदै आएको छ । कार्यालयले आन्तरिक सुशासन र सेवाप्रवाहलाई चुस्त बनाएसँगै राजस्व सङ्कलन बढेको जनाएको छ । यस रकममध्ये सबैभन्दा धेरै राजस्व चालक अनुमतिपत्र, सवारीदर्ता किताबसम्बन्धी दस्तुरबाट रु ३ करोड ५४ लाख ४० हजार ५६ र सवारीसाधन करबाट रु ३ करोड ४० लाख ३९ हजार ९४३ रकम राजस्व सङ्कलन भएको छ ।
यातायात क्षेत्रको आम्दानीबापत रु ४० लाख ८४ हजार ५४० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । अन्य प्रशासनिक सेवा शुल्कबापत रु २५ हजार ५०० र बेरुजुबापत रु ६७ हजार ३३६ रकम सङ्कलन भएको छ । कार्यालयले चालु आवमा करिब रु १० करोड राजस्व सङ्कलन हुने अनुमान गरेको छ ।
Comments are closed.