नेपालको पहिलो बहुसेवा सर्च इन्जिन अनलाइन सेवा डटकमको सेवा सुरु

पोखरा । व्यवसाय, सेवा र सूचना प्रवाहलाई एउटै माध्यमबाट एकीकृत गर्दै नेपालको पहिलो बहुसेवा सर्च इन्जिन अनलाइन सेवा डटकमले आफ्नो सेवा सुरु गरेको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै अनलाइनसेवा डटकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम अधिकारीले यसले नेपाललाई डिजिटल युगतर्फ लैजान महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

पोखरामा स्थायी घर भई हाल अमेरिका बसोवास गर्दै आएका अधिकारीले नेपाली सेवा र उत्पादनलाई अनलाइनको माध्यमबाट स्वदेश एवम् विश्व बजारमा पु¥याउनका लागि यो अभियानमा आकर्षित बनिएको बताए । नेपाल सानो तर डिजिटल सम्भावनाले भरिपूर्ण देश रहेको भन्दै उनले अनलाइनसेवा डटकम त्यही सम्भावनालाई वास्तविकतामा बदल्ने एउटा ढोका भएको उल्लेख गरे ।

“सबै सेवा एउटै ठाउँमा, अनलाइन सेवा डटकमको कदम” भन्ने आदर्श बाक्यका साथ सञ्चालित अनलाइनसेवा डटकम केवल वेबसाइट नभई व्यवसाय, पेशा, सूचना, र सेवाहरूलाई एउटै डिजिटल छातामुनि ल्याउने प्रयास भएको उनले जानकारी दिए । “यसमा व्यवसायिक सूचीकरण, पेशागत प्रोफाइल, जागिर सूचना, अफरहरू, कार्यक्रम जानकारी, युट्युब तथा वेबसाइट लिंक, हराएको/फेला परेको सामग्री, र सरकारी/गैरसरकारी सेवाको विवरण एकै ठाउँमा सहज रूपमा उपलब्ध छन्”, उनले भने ।

पोखरा र काठमाडौंबाट सेवा विस्तार सुरु गरिएको यस प्लेटफर्म अब छिट्टै देशभरका मुख्य शहरहरूमा फैलिने योजना रहेको र चाँडै नै यसको शाखा अमेरिकामा पनि खुल्ने तयारीमा रहेको उनले जानकारी दिए । उनका अनुसार कम्पनीले विशेषतः डिजिटल मार्केटिङ, इवेन्ट प्रमोशन, टुरिज्म प्रोमोशन, र दक्ष जनशक्तिको प्रोफाइल व्यवस्थापन जस्ता सेवा प्रदान गर्नेछ । नेपालमा उत्पादित वस्तु तथा सेवाहरूलाई अनलाइनमार्फत अमेरिका लगायतका मुलुकमा पु¥याउने आँफूहरूको लक्ष्य रहेको र नेपाल र अमेरिका बीचको व्यापारिक सम्बन्धलाई डिजिटल माध्यमबाट सहज बनाउने प्रयास गरिने उनी बताउँछन् ।

कम्पनीले नेपाली युट्युबर, कलाकार, उद्यमी, र डिजिटल सेवाप्रदायकहरूलाई एउटै मञ्चमा ल्याएर उनीहरूको कार्यलाई प्रवद्र्धन गर्ने योजना पनि अघि सारेको छ । आजको प्रतिस्पर्धात्मक डिजिटल संसारमा नेपाली युवाहरूका लागि आफनो सीप प्रदर्शन गर्ने उपयुक्त डिजिटल प्लेटफर्म अत्यावश्यक रहेको र अनलाइनसेवा डटकमले त्यो रिक्ततालाई भरिरहेको उनको भनाइ छ । सूचना प्रविधिको तीव्र विकाससँगै व्यवसायका लागि डिजिटल उपस्थिति अब विलासी विकल्प नभै अनिवार्य आवश्यकता बनिसकेको भन्दै उनले यसै पृष्ठभूमिमा, अनलाइनसेवा डटकम व्यवसाय र सेवाप्रदायकहरूका लागि सस्तो, छिटो, र प्रभावकारी प्रचार गर्ने एक भरपर्दो माध्यमको रूपमा स्थापित भइरहेको जानकारी दिए ।

यसका माध्यमबाट व्यवसायहरूले प्रदान गरेका विभिन्न अफरहरूको एकीकृत सूची, कार्यक्रम र इभेन्टहरूको जानकारी, रोजगारीका अवसरहरू, हराएका वा फेला परेका वस्तुहरूको विवरण, सिपयुक्त व्यक्तिहरूको प्रोफाइल, आफ्ना भिडियो र वेबसाइट लिंक सार्वजनिक गर्ने सुविधा समेत पाइने कम्पनिले जनाएको छ । त्यस्तै नेपाली भाषामा विभिन्न कार्यक्रम, समाचार र संगीत सुन्न मिल्ने अनलाइन रेडियो सुविधा, अनलाइन फारम भर्ने, प्यान कार्ड दर्ता, ब्लुबुक नवीकरणजस्ता डिजिटल सेवाहरूको सरल र छिटो पहुँच आदि पाइने जनाइएको छ ।

कम्पनीले भविष्यमा ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्ने, सीपयुक्त जनशक्तिको डाटाबेस निर्माण गर्ने, र कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत सेवाको गुणस्तर बढाउने योजना अघि सारेको छ । ई–गभर्नेन्स, ई–मार्केट र ई–सेवातर्फ देश अघि बढिरहेको सन्दर्भमा अनलाइनसेवा डटकमले समग्र डिजिटल इकोसिस्टममा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ ।

डिजिटल बजारमा आफ्नो सेवा वा उत्पादनलाई चिनाउने, नयाँ ग्राहकसम्म पुग्ने, र व्यवसाय विस्तार गर्ने चाहना राख्ने सबैका लागि अनलाइनसेवा डटकम एउटा उपयुक्त प्लेटफर्म बन्न सक्नेछ । सस्तो, छिटो र सरल अनलाइन प्रचार, स्थानीयदेखि अन्तर्राष्ट्रिय ग्राहकसम्म पहुँच, दैनिक अपडेट र सजिलो सामग्री व्यवस्थापनका साथै व्यवसायको डिजिटल पहिचान सुदृढीकरणका लागि अनलाइन सेवा डटकममा आबद्ध हुन सकिनेछ ।

 

You might also like

Comments are closed.