काठमाडौं । आगामी साउनमा काठमाडौंमा एसिया क्षेत्रको सबैभन्दा ठूला खुला स्रोत प्रविधि सम्मेलन मध्येको एक युबुकन एसिया २०२५, आयोजना गर्ने भएको छ । विश्वभरका प्रविधि विज्ञ सहभागी हुने यस सम्मेलनमा सिलिकन भ्याली, युरोप र एशियाका विभिन्न प्रविधि केन्द्रबाट २० भन्दा बढी सूचना प्रविधि प्रशिक्षकले सत्र सञ्चालन गर्नेछन् ।
यो नेपालमा यति ठूलो खुला स्रोत सम्मेलन पहिलो पटक आयोजना हुन लागेको हो । सम्मेलनका संयोजक आदित्य सिंहका अनुसार हालसम्म १५ भन्दा बढी मुलुकका ७० भन्दा बढी प्रस्तुतीकरण प्रस्तावहरू प्राप्त भइसकेका छन्, तर नेपाली सहभागिता थप बढाउने प्रयास जारी छ । यो घोषणा मार्च ३० मा सेंट जेवियर कलेज, सम्मेलन स्थलमा अन्तर्राष्ट्रिय आयोजक टोलीसँगको बैठकमा गरिएको छ ।
सम्मेलनमा ३० मिनेटका प्रविधिक प्रस्तुतीकरण, ९० मिनेटका कार्यशाला (वर्कसप) र छोटो लाइटनिङ टक जस्ता विभिन्न ढाँचाका सत्रहरू रहनेछन् । कृत्रिम बुद्धिमत्ता, क्लाउड पूर्वाधार र साइबर सुरक्षा जस्ता विषयहरू समेटिने गरी ६ वटा विषयगत ट्रयाक तय गरिएको छ ।सम्मेलनको लागि ‘अर्ली बर्ड’ दर्ता मे महिनादेखि आधिकारिक युबुकन एसिया पोर्टल र स्थानीय टिकटिङ साझेदारमार्फत खुल्नेछ ।
सम्मेलनका संयोजक आदित्य सिंहका अनुसार युबुकन एसिया नेपालको प्रविधि क्षेत्रलाई सशक्त बनाउन एउटा ठूलो अवसर हुने बताए । कार्यशाला सत्रमा कम्तिमा २५ प्रतिशत स्थान नेपाली वक्ताका लागि छुट्याउने प्रयास भइरहेको उनको भनाइ छ । हाल तयारी तीव्र गतिमा भइरहेको छ र अन्तर्राष्ट्रिय खुला स्रोत समुदायको नजर काठमाडौंमाथि केन्द्रीत भएको छ ।
मे महिनामा खुल्ने दर्ताका लागि इच्छुक सहभागीले https://2025.ubucon.asia/ लिङ्क मार्फत सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् । सम्मेलनले सहभागिलाई ‘मेन्टोरशिप राउन्ड टेबल’ र अन्य अतिरिक्त गतिविधिमा पनि सहभागी हुने अवसर प्रदान गर्नेछ । नेपालका लागि यति ठूलो सम्मेलन आयोजना हुनु राष्ट्रिय गौरवको विषय भएको र यो सम्मेलनलाई हालसम्मकै सबैभन्दा ठूलो युबुकन एसिया बनाउने लक्ष्य राखेको छ ।
खुला स्रोत प्रविधि संस्कृतिलाई नेपालमा प्रवद्र्धन गर्नु, अन्तर्राष्ट्रिय खुला स्रोत समुदाय र नेपाली प्रविधि क्षेत्रबीच पुल निर्माण गर्ने अपेक्षासहित सम्पूर्ण देश उत्साहित रहेको आयोजक टोलीले जनाएको छ । १५ भन्दा बढी अन्तर्राष्ट्रिय वक्ताको आगमनले नेपाललाई विश्वव्यापी प्रविधि समुदायमा उजागर गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
Comments are closed.