रामपुर (पाल्पा) । यौनिक तथा अल्पसंख्यक समुदायको अधिकारका विषयमा रामपुरमा सरोकारवालासंग अन्तर्क्रिया भएको छ । साहसी कदम नेपालको आयोजना, रामपुर नगरपालिका र टेवा नेपालको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
यौनिक तथा अल्पसंख्यक समुदायमा काम गर्ने अभियान्ता, नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच अन्तर्क्रिया भएको थियो ।कार्यक्रममा बोल्ने वक्ताले यौनिक तथा अल्पसंख्यक समुदायको लागि राज्यले नीतिगत व्यवस्था गरेपनि कार्यान्वयनको पाटो फितलो रहेको बताएका छन् । कार्यान्वयन पक्ष कमजोर हुँदा समाजमा खुलेर हिड्न चुनौति रहेको बताएका हुन् ।
कार्यक्रममा नगरपालिकाका कार्यवहाक नगर उपप्रमुख बालकुमारी थापाले स्थानीय तहको सिमित स्रोत र साधनका बीच पनि यौनिक तथा अल्पसंख्यक समुदायको हितका लागि नीतिगत व्यवस्था सहित कार्यान्वयनका लागि बजेट र कार्यक्रमको व्यवस्था गरेको बताइन् । नगरभित्र रहेका यौनिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चतताका लागि नगर सरकार प्रतिबद्ध रहेको उनले बताउँदै नगरपालिका भित्र पनि यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरु रहेपनि खुल्न नचाहेको उल्लेख गरेका छन् ।
उपप्रमुख थापाले समाजको डरले गर्दा यौनिक अल्पसंख्यक समुदायका व्यक्ति खुल्न नचाहेको बताउँदै यस समुदायको उत्थान र सहज रुपमा खुलेर जिउने वातावरण बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताइन् । कार्यक्रममा सहासी कदम नेपालका केन्द्रिय सदस्य इन्द्रादेवी सारुले तीनै तहका सरकारले यौनिक अल्पसंख्यक समुदायका लागि उचित व्यवस्था र अधिकार दिन नसकेको गुनासो गरिन् । परिवारबाट पनि अपहेलित भएर टाढिनुपर्ने बाध्यता रहेको भन्दै यौनिक अल्पसंख्यकका लागि सरकारले फरक नीतिगत व्यवस्था सहित कार्यान्वयनको पक्ष बलियो बनाउन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा यौनिक अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियन्ता भूमिका श्रेष्ठले यौनिक अल्पसंख्यक समुदायका मानिस अन्य भन्दा फरक नभई पृथक भएको बताइन् । सहासी कदम नेपालका प्रबन्ध निर्देशक रेश्मा न्यौपानेले पृथक स्वभाव र शारीरिक बनावटका कारण परिवारबाट अलग भएर बस्नुपर्ने बाध्यता रहेको र जुनसुकै स्थानमा स्विकार नगर्नु आफुहरुको लागि विडम्बना भएको बताइन् । उनले महिला पुरुष जस्तै यौनिक तथा अल्पसंख्यक पनि सन्तान सरह नै मान्नुपर्ने बताउँदै हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्नेमा जोड दिइन् ।
कार्यक्रम संयोजक सुरज थापाले रामपुर नगरभित्र पनि यौनिक तथा अल्पसंख्यक समुदाय भन्न नसक्ने र खुल्न नचाहने धेरै रहेको जानकारी दिए । सहासी कदम नेपालका केन्द्रीय सदस्य इन्द्रादेवी सारुको अध्यक्षतामा भएको हो । कार्यक्रमको सञ्चालन सहासी दम नेपालका केन्द्रीय सदस्य न्यौपानेले गरिन् । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला लगायत सहभागी थिए ।
Comments are closed.