विषादीले मौरीपालनमा क्षती, व्यवसाय सङ्कटमा

सुशीला रेग्मी/रामपुर (पाल्पा) । घर वरपरका बगैँचा, आँगनका छेउमा लहरै राखिएका मौरीका घार छन् । विहान उज्यालो भएदेखि साँझ अबेरसम्म घार वरीपरी नै बस्न मन पराउने जयनारायण न्यौपाने अहिले भने घार देख्दा विक्षिप्त बनेका छन् । मौरीघार उनलाई आम्दानीको स्रोत मात्र नभई दिन बिताउने माध्यम बनेको थियो । घारसँग रमाउँदै दिन कटाउने न्यौपानेलाई घार देख्दा मन भारी भएर आउँछ ।

पाल्पा रामपुर नगरपालिका–६ किसानटोल बस्ने न्यौपाने घारमा रहेका मौरी मरेर सखाप भएपछि उनी चिन्तित छन् । एक्कासी मौरी मरेपछि उनलाई व्यवसाय न निल्नु न ओकल्नु जस्तै बनेको छ । बगैँचामा मौरीसँगै भुलेर दिन कटाउन पाउँदा समय बितेको पत्तो हुदैनथ्यो । यसरी नै मौरीको रेखदेख गरेर समय बिताउने गरेपनि हिजोआज भने मौरी बगैँचामा पस्न पटक्कै मन छैन । मौरीका रित्ता घार देख्दा उनको मन विक्षिप्त बनेको छ ।

“बगैँचाभरी मौरीको हेरचाह गरेर समयको गएको पत्तो हुदैनथ्यो, अहिले मौरी सबै मासिएपछि घरमा दिन कटाउन गाह«ो भएको छ” उनले गुनासो पोख्दै भने,–“हिजोका दिन खाना खाने समय बाहेक बगैँचामा नै बसेर दिन बिताउँथे, घरमा कोही आफन्त, साथीभाई, इष्टमित्र आएपनि बगैँचातिर डुलाउँथे, अहिले बगैँचाभित्र पस्न पनि मन छैन, मौरीघार रित्ता देख्दा मन खिन्न भएर आउँछ” ।

छिमेकीले बालीनालीमा विषादी छरेका कारण फार्ममा भएका मौरी मरेर करिव ७ लाख बराबरको नोक्सानी बेहोर्नु परेको उनी बताउँछन् । विषादीले ८५ गोलाघारमा तयार गरिएको मौरी सबै क्षती हुन पुगेको उनले सुनाए । वि.सं २०५५ देखि ‘न्यौपाने मौरी उद्योग’ स्थापना गरेर मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपानेले पहिलो पटक ठूलो क्षती बेहोर्नु परेको जनाए । यसवर्ष उनले ६० घार गोलासहित मौरी बिक्रि गर्ने तयारीमा थिए । विभिन्न ठाउँबाट मौरी तयार हुनु अगावै माग आइसकेको थियो । तर पठाउने तयारी गरिरहेको अवस्थामा एक्कासी मौरी सबै मरेर नष्ट हुन पुगेको छ ।

“छिमेकीले खेतबारीमा विषादी छर्कदा मौरीमा ठूलो क्षती पुगेको छ, व्यवसायको क्रममा पहिलो पटक यस्तो क्षती भोग्नु परेको छ, घारमा राखिएका मौरी मरेपछि बगैँचामा फर्कन मन छैन, रित्ता घार देखेर मन खिन्न बनेको छ” उनले भने । बगैँचामा पसेर मौरीको हेरचाह, स्याहार गरेर उनले आफ्नो समय बिताउँथे । मौरी नै जीवन जिउँने साहारा थियो । बुढेसकालको साहारा र नयाँ पुस्तालाई मौरीपालन व्यवसायबारे जानकारी दिन आफ्नै घरमा व्यवसाय चलाएका हुन् ।

उनी उमेरले करिव ८ दशक भएपनि फूर्तिलो बनेर मौरीसँग रमाउँथे । मौरीसँग उनको एक किसिमको गहिरो माया प्रेम नै बसेको छ । गत फागुनको पहिलो हप्ताबाट विषादीका कारण मौरी मर्न थालेको उनी बताउँछन् ।लामो समय देखि यस व्यवसाय सञ्चालन गर्दै आएका न्यौपानेले जीवनकालमै यस्तो महामारीको रुपमा ठूलो क्षती भोग्नु परेको सुनाए । आफ्ना अभिभावक गुमाउँदा भन्दा बढी पीडाबोध भएको दुःखेसो उनले व्यक्त गरे ।

“मौरीको प्रागसेनले बाली विरुवालाई राम्रो बनाउँछ, चरनका लागि मौरी विहान साढे तीन वजे नै निस्केर ९ वजे घारमा आएर बस्छन्, विहानको समयमा बालीविरुवामा विषादी छर्कदा लगत्तै चर्न जाने भएकाले रस सेवनले मौरी मासिएको छ, साँझ ५ वजेपछि विषादी प्रयोग गरेको भए कम क्षती हुन्थ्यो” उनले भने ।

व्यवसायको क्रममा पहिलो पटक एकै पटक ठूलो क्षती भएपछि उनलाई यो व्यवसाय अघि बढाउन भने रहर छैन । मह बिक्रिबाट न्यौपानेले वार्षिक रुपमा रु ५ देखि ६ लाखसम्म आम्दानी गर्दै आएका छन् भने सरदरमा ८० गोलासहितको घार बिक्रि गर्दै आएको उनी बताउँछन् । गोलासहित एक घारको रु ९ हजार, खाली घारलाई रु ५ हजारमा बिक्रि भइरहेको छ । गोलासहित बिक्रि गर्दा व्यवसायीलाई फाइदा हुने गरेको उनको अनुभव छ ।

पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, गुल्मी, झापा लगायत विभिन्न जिल्लामा यहाँबाट मौरी तथा घार पठाउने गरिएको छ । उद्योगमा नै मौरीघार तयार पारिने भएको हुँदा विभिन्न जिल्लाबाट घार खरिद गर्न आउने गरेका छन् । मौरीलाई जोगाउन स्थानीय निकायबाट किसानलाई जनचेतनामूलक कार्यक्रम ल्याउन उनको माग छ । मौरीपालन क्षेत्र अध्ययन गरेर कुन समयमा विषादी छर्कदा उपयुक्त हुन्छ, त्यसबारेमा किसानलाई सुसुचित गराउन पूर्व जानकारी दिइयो भने किसानले पनि उपयुक्त समयमा विषादी प्रयोग गर्ने उनको भनाइ छ ।

न्यौपानेको मौरी व्यवसाय क्षती पुगेको जानकारी पाएपछि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापासहितको टोलीले अवलोकन गरेका छन् । मौरी व्यवसायलाई प्रवद्र्धन गर्न नगर सरकार प्रतिवद्ध रहेको उनले बताए । क्षती भएपनि व्यवसायलाई अघि बढाउन नगर प्रमुख थापाले सुझाव दिएका छन् । रासस

You might also like

Comments are closed.