काठमाडौं । ग्लोबल औषधि कम्पनी सिप्लाले नेपाल रेस्पिरेटरी सोसाइटीसँग सहकार्य गर्दै नेपालमा श्वासप्रश्वाससम्बन्धी बिरामीको उपचार नियमित गराउन ‘ब्रीथफ्री ९०’ कार्यक्रम सुरु गरेको छ ।
एआई प्रविधिमा आधारित यो कार्यक्रम ९० दिनसम्म चल्नेछ र ह्वाट्सएपमार्फत बिरामीलाई इनहेलर समयमै प्रयोग गर्न नियमित रूपमा सम्झाउनेछ । देशभर वायु प्रदुषण गम्भीर स्वास्थ्य चुनौती बनेका बेला नेपालका लागि यो पहल निकै सान्दर्भिक मानिएको छ ।
नेपालमा प्रदुषणका कारण प्रत्येक वर्ष झन्डै ५० हजार जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । दम र दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगका बिरामी बढ्दै गइरहेको पाइएको छ । यस्ता रोगका लागि इनहेलरहरू प्रभावकारी उपचार मानिएपनि धेरैजसो बिरामीले नियमित रूपमा औषधि प्रयोग नगर्दा समस्या झन् जटिल हुने गरेको छ ।
‘ब्रीथफ्री ९०’ कार्यक्रमले यस्ता समस्यालाई हल गर्ने अपेक्षा गरिएको छ । ‘ब्रीथफ्री ९०’ मा सहभागी बिरामीले आफ्नो उपचार तालिकाअनुसार हरेक दिन सजिलो भाषामा तयार पारिएका सन्देशहरू प्राप्त गर्नेछन् । एआईले इनहेलर प्रयोगको सही तरिका र रोग व्यवस्थापनसम्बन्धी जानकारी पनि दिनेछ । जसले विरामीको स्वास्थ्य सुधारमा सहयोग पु¥याउनेछ ।
कार्यक्रममा सहभागी हुन क्लिनिक, अस्पताल वा फार्मेसीमा उपलब्ध क्युआर कोड स्क्यान गर्न सकिनेछ । सिप्लाका इमर्जिङ मार्केट र युरोपका प्रमुख स्वप्न मलपानीले प्रविधिको माध्यमबाट बिरामीको जीवनस्तर सुधार गर्ने कम्पनीको प्रतिबद्धता दोहोर्याए । उनी भन्छन्, “हामी श्वासप्रश्वाससम्बन्धी दीर्घ रोगसँग बाँचिरहेका मानिसको जीवन सहज बनाउने दिशामा काम गरिरहेका छौं र ब्रीथफ्री ९० यसैको एउटा महत्वपुर्ण पाइला हो ।”
नेपाल रेस्पिरेटरी सोसाइटीले यो कार्यक्रम स्वास्थ्यकर्मी माझ प्रवद्र्धन गर्दै अस्पताल र क्लिनिकमा यसको कार्यान्वयन सुनिश्चित गर्न मद्दत गर्नेछ । सिप्ला र सोसाइटीबीचको यो सहकार्यले हजारौं नेपालीको श्वासप्रश्वास स्वास्थ्य सुधारमा सकारात्मक योगदान दिने विश्वास गरिएको छ ।
Comments are closed.