नेपालमै पहिलो पटक सुरु भयो रिभर ट्युबिङ

काठमाडौ । नेपालमा नै पहिलो पटक रिभर ट्युबिङ सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ ।

रिभर ट्युबिङबारे अहिले धेरैको चासोको विषय बनेको छ । यो सेवामा सहभागी पर्यटकलाई ठूला र बलिया रबर ट्युबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर मिल्छ । नदीको छालसँग खेल्दै बग्ने यो यात्राले साहसिक अनुभूति मात्र होइन शारीरिक र मानसिक ताजगी पनि प्रदान गर्छ । विशेषगरी गर्मीयाममा चिसो पानीमा रमाउने चाहना भएका पर्यटकका लागि यो सेवा उत्कृष्ट विकल्प हुन सक्छ । शुरुवाती दिनमा नै ४८ जनाले रिभर ट्युबिङ सेवा लिएको थियो ।

‘माझी किङ’ यमन माझी रिभर ट्युबिङ नेपालका फाउण्डर हुन् । उनका अनुसार यो परियोजना नेपालमा साहसिक पर्यटनलाई अझ विस्तार गर्ने लक्ष्यका साथ सुरु गरिएको हो । उनले भने, “नेपालमा पहाडी गन्तव्यहरू र ट्रेकिङ्गका थुप्रै विकल्पहरू भए पनि नदीमा रमाउने सुविधाहरू सीमित छन् । हामीले त्यसलाई नयाँ दिशा दिन खोजेका हौं।” रिभर ट्युबिङ प्याकेजमा सहभागी हुनेहरूका लागि खानपान र यातायातको व्यवस्थासमेत समेटिएको छ ।

दोलालघाटमा सुरु हुने यो यात्रामा स्थानीय परिकारहरू पनि स्वाद लिन सकिनेछ । पर्यटकको सुविधाका लागि अनुभवी प्रोहरु, सुरक्षा उपकरण र मेडिकल किटको व्यवस्था समेत गरिएको जनाइएको छ । यसका साथै उद्घाटनको अवसरमा पहिलो महिनाभरि आउने पर्यटकलाई विशेष छुटको व्यवस्था गरिएको छ । यो सेवाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यमन माझीको यो नयाँ प्रयासले नेपाली पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ । भविष्यमा देशका अन्य नदीमा पनि यस्तो सेवा विस्तार गर्ने योजना रहेको उनले जानकारी गराएका छन् ।

You might also like

Comments are closed.