तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा ३ पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा ३ पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ । नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनःसुरु गरेको हो । रेसुङ्गा–काठमाडौंका लागि रु ७ हजार ८० र काठमाडौं–रेसुङ्गा रु ७ हजार २८० भाडादर कायम छ ।
मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुनसकेको थिएन । हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए । निगमको १८ सिट क्षमताको जहाजले बिहान ६ः१० बजे काठमाडौंबाट रेसुङ्गा र बिहान ७ः१५ बजे रेसुङ्गाबाट काठमाडौंका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ ।
Comments are closed.