परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले पुष्टि गरेको थियो । यहाँका उच्च पहाडको एक दर्जन बढी स्थानबाट विभिन्न समयमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेका छन् । बागलुङ महोत्सव र बलेवा महोत्सवमा प्याराग्लाइडिङलाई व्यवसायिकता दिने प्रयास गरिएको थियो ।

सफल परीक्षण भएपनि हालसम्म व्यवासायिक प्याराग्लाइडिङ हुन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले २०७७ सालमा बलेवामा प्याराग्लाइडिङका लागि पूर्वाधार समेत निर्माण गरेको थियो । तर, त्यो प्रयोग विहीन भएको छ । यहाँका बागलुङ नगरपालिका–६ भरिलाखुरी, बागलुङ नगरपालिका–१३ पहरेडाँडा, ढोरपाटन नगरपालिका–९ ढोरपाटन उपत्यका, गलकोट नगरपालिका–७ राम्चेढुङ्गालगायतका स्थानबाट विभिन्न समयमा परीक्षण उडान भइसकेका छन् ।

बलेवामा प्याराग्लाइडिङका लागि पोखराको सराङ्कोटको विकल्पमा बनाइएका पूर्वाधार पाँच वर्षदेखि प्रयोग विहीन छ । गण्डकी प्रदेश सरकारले २०७७ सालमा रु २० लाख खर्चेर बलेवाको पहरेडाँडामा विभिन्न संरचना बनाएपनि प्रयोगमा ल्याउन नसकिएको बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए ।

“पाँच वर्षअघि बलेवामा प्याराग्लाइडिङ हुने भएपछि निकै उत्साहित थियौँ, २०७५ सालको बलेवा महोत्सवमा उडान भरेको स्थान उपयुक्त भएको प्यारापाइलटले जनाएपछि पहरेडाँडामा प्याराग्लाइडिङका लािग मैदान, विश्रामस्थल भवन र शौचालय तयार गरेपनि प्रयोगमा आएको छैन,” वडा अध्यक्ष शर्माले भने, “पूर्वाधार बन्यो, व्यावसायिक उडान हुन सकेन, अहिले पोखराको प्याराग्लाइडिङ व्यवसाय धरापमा परेपछि झनै आश म¥यो ।”

प्रदेश सरकारले बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राइनासकोट, स्याङ्जाको न्यौपानेडाँडा र कास्कीको अर्मलालाई प्याराग्लाइडिङको विकल्पका रूपमा राखेर पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको थियो । साहसिक पर्यटनका पूर्वाधारसमेत बलेवामा रहेकाले यहाँ प्याराग्लाइडिङको सम्भावना प्रचुर भएपनि व्यवसायिकता पाउन सडक पूर्वाधारलगायतलाई प्राथमिकता दिनुपर्ने स्थानीयको भनाइ छ ।

You might also like

Comments are closed.