पोखरा । जगत जननी महिला समूह पोखरा–११ रानीपौवाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्रविधिक सहयोगमा निःशुल्क शिविर आयोजना गरेको छ । शिविरमा १५२ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब वोसो (टिजी०) तथा थाइराडसम्बन्धी रगत जाँच गरिएको छ ।
गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना गरेको यो १९६ औं शिविर हो । कार्यक्रममा युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापनाको एक दशकमा दुई लाखभन्दा बढीलाई सित्तैमा सेवा उपलब्ध गराएको तथ्यांक पेश गर्दै सामाजिक उत्तरदायित्वसहितको व्यवसायमा युआरएल अघि बढेको जनाए ।
उनले प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्राप्त रेफरेन्स ल्याब भएकाले सचेतनासँगै गुणस्तीय जाँचको महत्व र समय समयमा जाँच गर्ने बानी विकास गराउन युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गर्दै शिविरमा सहभागिता जनाउँदै आएको बताए ।
समाजसेवी भोला बरालले युआरएलको सेवाले राजधानी र विदेश उपचारका लागि जानुपर्ने बिरामीलाई निकै सहज भएको सुनाए । समूहकी अध्यक्ष बकावली रञ्जित शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पार्वती बराल, सानु जोजिजू लगायतले आफ्ना भनाइ राखेका छन् ।
Comments are closed.