अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा प्रभातफेरी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्ने बताएका छन् ।

बिहीबार ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा सचेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटनलाई नेपालमा आकर्षण गर्न सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

पर्यटनमन्त्री पाण्डेले भने,“सगरमाथा हाम्रो पहिचान र गौरव त हो नै यसप्रति विश्वले नै गौरव गरेको छ । पृथ्वीको सबैभन्दा उचो भूगोल भएको सगरमाथामार्फत् हाम्रो पहिचानलाई स्थापित गर्न सगरमाथा संवाद पनि आयोजना ग¥यौ र विश्वलाई सगरमाथाको देशप्रति आकर्षित गर्यौ ।”

उनले जलवायु परिवर्तनका कारण हाम्रा हिमालहरु कालापत्थरमा परिणत हुने जोखिम बढेको बताएका छन् । उनले भने, “सगरमाथाको हिउँ पग्लिँदा नेपाललाई मात्र होइन, हिमवत खण्डलाई मात्र होइन सिंगो पृथ्वीलाई नै असर गर्छ । त्यसकारण नेपालको समस्या मात्र होइन भन्ने कुरा बुझाउन हामीले विश्वभरका हिमाल र जलवायु बुझेका मानिसहरुलाई बोलाएर छलफल गरेका छौं ।”

सगरमाथा दिवसकै अवसरमा हनुमानढोका खुला भएको पनि मन्त्री पाण्डेले जानकारी गराएका छन् । सगरमाथा दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाइएको छ । दिवसको अवसरमा बिहीबार बिहान प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा प्रभातफेरी आयोजना गरियो ।

कर्मचारी सञ्चयकोष ठमेलबाट सुरु भएको झाँकी, ब्याण्डबाजासहितको र्याली वसन्तपुर पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।र्यालीमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी , नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी तथा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुको छाता सङ्गठनका प्रतिनिधि, सरकारकी कर्मचारी, सुरक्षा निकाय, सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।

यससँगै नेपाल पर्यटन बोर्ड परिसरमा रहेको तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्णकदको शालिकमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, वरिष्ठ प्रबन्धक उदय भट्टराईले माल्यापर्ण गरेका हुन् । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई भव्य रुपमा मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ । दिवसको अवसरमा आज विहान प्रभातफेरीसहित वसन्तपुरमा औपचारिक कार्यक्रम गरियो भने दिउँसो दिवस मूल समारोहसमितिले ‘वल्र्ड समिटर्स समिट’ कार्यक्रमको आयोजना गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने समारोहमा कीर्तिमानी आरोहीका अनुभव आदन–प्रदानका साथै साहसिक पर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकणबारे बहस हुनेछ । यससँगै विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम छ ।

You might also like

Comments are closed.